प्रजातान्त्रिक राप्रपा र राष्ट्रवादी राप्रपा आज एक हुँदै

प्रजातान्त्रिक राप्रपा र राष्ट्रवादी राप्रपा आज एक हुँदै


काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।

राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि विहिबार हस्ताक्षर गर्नुभएको छ । देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्यसाथ चावहिलस्थित केन्द्रीय कार्यालयमा दुवै नेताले विहिबार हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष डा लोहनीले मुलुकमा भएका राजनीतिक परिवर्तन अनुसार जनतालाई अधिकार सम्पन्न तथा उनीहरुको सामाजिक रुपान्तरण हुन नसकेका कारण एकता गरिएको बताउनुभयो । अर्का अध्यक्ष राणाले अहिलेको अवस्थामा कुनै पनि दलको एक्लो प्रयासले राष्ट्रको विकास र समृद्धि सम्भव नरहेको बताउँदै देश र जनताको हितअनुसार नीति बनाएर सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

शुक्रबार ( आज ) एकता घोषणा गरिने र एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।

महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणाली अन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने राप्रपा (प्र) नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
रासस

Logo