जापानले नेपाली कामदार लैजाने तयारी कहाँ पुग्यो ?

जापानले नेपाली कामदार लैजाने तयारी कहाँ पुग्यो ?


(कृष्णसिंह धामी)

काठमाडौं । यतिबेला धेरै नेपालीको ध्यान जापानतिर केन्द्रित भईरहेको छ । जापान सरकारले नेपालसहित विभिन्न देशबाट कामदार लैजाने घोषणागरेसँगै धेरै नेपालीको ध्यान तानेको छ । अहिलेसम्म अध्ययनको लागि मात्र नेपालीहरु जपान जाने गरेका छन् । अब कामदार भिषामा पनि जान पाईनेछ ।

अहिले जापान सरकार अभाव भएको कामदार परिपूर्तिका लागि नेपालसहित विभिन्न देशसँग आफ्ना देशमा कामदार लैजाने विषयमा चरणबद्ध रूपमा छलफल गरिरहेको छ । जापान आगामी मार्चदेखि कामदार आफ्नो देश भित्र्याउने योजनामा छ ।

विदेशी कामदार भित्र्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलब ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो । नर्सिङ केयर, रेष्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

सबै छलफलमा भएका कुरा गोप्यः
त्यसैको तयारी स्वरुप नेपाल सरकार र जापानी अधिकारीबीच छलफल तथा वार्ता चलिरहेको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयलाई गोप्य राखेको छ । अहिलेसम्म भईरहेको प्रगतिबारे कुनै पनि कुरा बाहिर आएको छैन् । दुई देशका अधिकारीबीच अझै पनि गोप्य छलफल जारी छ ।

सरकारको चाहना जापानमा नेपाली कामदारलाई उच्च सम्मान होसः
वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ । जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ ।

सोही आधारमा एक मुलुकसँग भएका छलफलको निर्णय अर्को देशले अहिले नै थाहा पाउँदा बार्गेनिङ गर्न सक्ने भएकाले जापानी पक्षले यो विषयमा कुनै कुरा बाहिर नल्याउन मन्त्रालयलाई आग्रह गरेको हो ।

यसबीचमा मन्त्री गोकर्ण विष्टले पनि जापानी राजदूतसँग पटक पटक भेट गरिसकेका छन् । राजदूतसँगको भेटका क्रममा मन्त्री विष्टले नेपाली कामदार लैजाने मोडालिटी, उनीहरुको सेवासुविधा लगायतका विषयमा छलफल गरेका थिए ।

त्यस्तै मन्त्री विष्टले श्रमिक ठगिन नपरोस् र नेपाली कामदारको सुरक्षा तथा सेवासुविधाको विषयलाई जोडदार रुपमा उठाएको मन्त्रालयले स्रोतले जनाएको छ ।

भाषा, भिषा लगायत अन्यको तयारीः
वैदेशिक रोजगारका लागि जापान जान पाइने भनेपछि अहिले धेरैमा जापानीज भाषाको मोह निकै बढेको छ । भाषा सिकिराखे जापान रोजगार खुल्ने बित्तिकै जान पाइने बुझाइ छ ।

वैदेशिक रोजगारमा जापानका विषयमा अन्य विवरण सार्वजनिक गरे कन्सल्टेन्सीले जापानिज भाषालाई कमाइ खाने भाँडो बनाउन सक्ने भन्दै सोप्रति सचेत रहदैं अहिले सबै कुरा गोप्य राखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अहिले कतिपय कन्सल्टेन्सीले यही नाममा भाषा पढाउन थालेका छन् । कोर्स के हुने, कुन–कुन क्षेत्रका लागि कामदार कति लैजाने, भर्ना प्रक्रिया भने टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालका सूचना अधिकारी केशवराज सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले छलफलकै क्रममा रहेकाले कहिले सम्म टुंगो लाग्छ भन्ने एकिन भएको छैन् ।

के गर्दैछ जापान ?
जापानी सरकारले पनि विदेशी कामदार ल्याउने विषयमा गहन रुपमा तयारी थालेको छ । जापानीज संचारमाध्यमहरुका अनुसार विदेशी कामदार ल्याउँदा देखा पर्ने दलाल रोक्ने देखि लिएर कामदारको सुरक्षाका विषय सम्ममा आन्तरिक तयारी थालेको छ ।

जापान सरकारले दलालहरुका विषयमा कडा कदम चाल्ने जनाएको छ । उनीहरुको कडा नियम बनाएको जसले गर्दा जापानमा आउने विदेशी कामदारलाई सुरक्षित राख्न सकियोस ।

‘ब्लू कलर कामदार’ नाम दिईएको विदेशी कामदारको सुरक्षा जापानको पहिलो चुनौती बनेको छ । विभिन्न देशहरुसँग गर्ने सम्झौतामा पनि कामदारका सुरक्षा पहिलो प्राथमिकतामा दिईरहेका कारण यस विषयमा जापान निकै सजक देखिएको छ ।

Logo