अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमा

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमा


काठमाडौं

काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगला उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे ।

बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो । दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन ।

भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लास गाड्यो, यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा लास गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लास निकाले । लास अजितकै थियो ।

प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । उनको लास अझै अस्पतालमा छ ।

मिजार परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइतीपक्षका चार जनालाई पक्राउ ग¥यो । तर जिल्ला अदालतले तारेखमा छाड्यो । यसरी काभ्रेका युवालाई धादिङमा लगेर मारिएको र पोस्टमार्टम पनि नगरी हतार हतार गाडिएको स्पष्ट हुंदाहुंदै पनि कुनै कारबाही नभएकोमा मिजार परिवार आक्रोशित छ । दोषीलाई कारबाही नभएसम्म हामीले शब नउठाउने अडान लिएका छन् ।
नयाँ पत्रिकाबाट

Logo