Hot Newsपत्र-पत्रिका बाटराष्ट्रियसमाचार

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश : रिहा भए लगत्तै फेरि पक्राउ

काठमाडौँ

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले शुक्रबार विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निवेदक (विश्वकर्मा) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू ।”

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ । विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो । उहाँलाई व्यापारीसँग सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।

रिहा भए लगत्तै फेरि पक्राउ

यता अदालतको आदेशबाट रिहा भए लगत्तै प्रवक्ता विश्वकर्मा फेरि पक्राउ परेका छन् । शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि सर्वोच्च अदालतमा हाजिर गराइएका उनलाई प्रहरीले सर्वोच्च परिसरबाट बाहिर निस्कने क्रममा पक्राउ गरेको हो ।

गत असारमा चन्दा उठाएको आरोपमा चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मा पटक पटक बन्दी प्रत्यक्षीकरण रिट मार्फत छुटे पनि प्रहरीले एकपछि अर्को अभियोगमा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्दै आएको छ । यसै सिलसिलामा उनलाई देशका विभिन्न जिल्ला समेत लगिएको थियो ।

SKIP THIS