#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32416537987743749637123932423
नेपाल693014531843750411

अरिंगाल र यौटा नमिठो सम्झना !

दुर्गा पंगेनी

बा प्राय स्याङ्गजा पुतलिखेत तिरै बस्नुहुन्थ्यो । अड्डाको काम थियो , त्यसैले शुक्रबार राति घर आउने र आइतबार बिहानै अड्डा भेटाउन पुतलिखेत पुग्ने गर्नुहुन्थ्यो । यस्तै पैचालिस साल तिरको कुरा होला । मलाई ठ्याक्कै मिति सम्झना छैन । अचानक मलाई अरिंगालले टोक्यो । मलाई अरिंगालले टोकेको केहि महिना पछी जनआन्दोलन सुरु भएको थियो ।

मेरो घरको सुन्दरता कस्तो थियो भने – घरको अगाडी लहरै फलफूलका रुखहरु थिए । सबैभन्दा दाहिने पट्टि पारिजातको रुख थियो जुन रातभरी फुलेर झरिसक्थ्यो । पारिजातको फुल झरेको ठाउँमा पनि आउँछ अरिंगाल । पारिजात भन्दा केहि यतापट्टी तुलसीको मठ थियो त्यहाँ अहिले मन्दिर बनाउनु भएको छ बा ले । तुलसीको मठ लगत्तै आँपको रुख छ। आँपको रुख केहि तल थियो, त्यसको केहि माथि पट्टि जुठेल्नो थियो त्यहाँ आमाहरु लाई भाँडा माझेर सुकाउन सानो बासको टाँड बनाईएको ।

जुठेल्नाको तलपट्टी केराघारी थियो। केराघारीको देब्रे मेवाघारी थियो। मेवाघारीको अलिकति माथि खुर्सानी बारी थियो । खुर्सानी बारी कटेपछि दुई वटा नास्पातीका रुख थिए । यौटा सेतो नास्पाती थियो । अर्को रुख रातो नास्पातीको थियो । नास्पाती भन्दा अलिकति तल कटहरको रुख थियो । त्यसको देब्रेपट्टि अग्लो न अग्लो बडहरको रुख थियो । बडहरको थोरै देब्रे केहि आरुबखडा र आरुका रुख थिए । अनि भुईंकटहरघारी सुरु हुन्थ्यो, भुईंकटहरघारी सकिएपछी केहि बेलौतिका रुखहरु थिए र अन्तिममा खेतमा पुग्ने बेलामा केहि चिलाउनेका रुख अनि यौटा आँपको रुख थियो । त्यो आँपमा खासै फल लाग्थेन । हामीहरु त्यो रुखमा झ्याँकुसी खेल्थ्यौं ।

यो सबै मेरा बा को पौरख थियो । मेरा हजुरबा बित्दा बा सानै हुनुहुन्थ्यो रे । मैले त हजुरआमाको समेत अनुहार सम्झन्न । हजुर बा बित्दा बा त्यस्तै सोह्र सत्र बर्षको थिएँ भन्नुहुन्छ । त्यसपछि यो सम्पूर्ण सृष्टि जोड्नमा मेरा बा ले आफ्नो जिन्दगीको सम्पूर्ण उर्बर समय खर्च गर्नुभएको थियो । कहिलेकाहीं आँगनको डिलमा उभिएर बा ले वारपार आफ्नो पौरखले आर्जन गरेका कुराहरु हेरेर मख्ख पर्नुहुन्थ्यो ।

साँझ परेपछी बा कथा सुनाउनुहुन्थ्यो । कटहरका रुख कसले रोप्न हुन्छ कसले हुदैन अनी बाँस कसले काट्न हुन्छ कसले हुदैन यस्तै कुराहरु सुनाउदै बा को साप्ताहिक बिदा शनिबार सकिन्थ्यो र बा पुतलिखेत फर्कनुहुन्थ्यो ।

प्रसङ्ग अन्तै गएछ । अब अरिंगाल तिरै फर्कौं । फलफुल पाक्ने मौसममा हाम्रो घरमा फलफूलको कमि कहिल्यै भएन । आँप पनि रुखबाट पाकेर आफैं झरेको र भुईंमै कुहिएको धेरै देखेको हुँ मैले । फलफुल सबैजसो भएपनि तिनीहरुको ब्यबस्थापन सहि किसिमको थिएन क्यारे । त्यो समयमा पेखु तिर केहि सुन्तला बेच्ने ब्यापारीहरु थिए तर अरु फलफूलको ब्यापार हुदैनथ्यो ।

गाउँघरमा घरमै उत्पादन भएको फलफुल अनि दुध बेचेको राम्रो मानिदैनथ्यो । साथै बजारबाट चामल बेसाहा ल्याएर खाएको कुरा पनि ईज्जतिलो हुदैनथ्यो। ‘लोभिले मात्र फलफुल गोरस बेच्छ अनि कंगालले मात्र बजारको चामल खान्छ’ भन्ने मान्यताको कारणले होला फलफूलको ब्यापार र बजारको बेसाहाले हाम्रो घरमा खासै ठाउँ पाएको देखिन मैले ।

अझै अरिंगालको कुरो समात्न गाह्रो भयो । कुरा के भने जब जब नासपति रुखमै छिप्पिएर पाक्थ्यो तब तब त्यो नास्पातीमा अरिंगाल आएर बस्न सुरु गर्थे । त्यी अरिंगालहरु त्यहीं गोलो बनाएर बस्ने खाले अरिंगाल थिएनन् । ति झुण्डमा पनि हुन्थेनन् । यौटै रानो अरिंगालका ज्यामी पनि होइनन क्यारे । हेर्दा तितरबितर भए जस्ता । एक्लाएक्लै झुण्ड या बगाल छोडेर खालि नास्पातीको रस चुस्नको लागि मात्र आए जस्ता देखिन्थे । अरिंगालले चुस्दाचुस्दै नास्पातीको भेट्नोले पनि फललाई सहारा दिन नसक्ने हुने रहेछ क्यारे अनि नास्पातिको गेडो फ्याट्ट भुईंमा बजारिन्थ्यो । त्यसरी नास्पाती झर्दा एक झुण्ड अरिंगालहरु उडदथे भुईइया गरेर ।

आमा नास्पातीको रुखमा चढ्न नसक्ने । दुब्लो पातलो र सुरिलो परेर अक्काशिएको नास्पातीको रुखले ठुलो मान्छे धान्ने ल्याकत पनि राख्थेन । बोटले आफ्नै फल धान्न नसकेपछी बा ले तलबाट थाक्रो लगाएर अड्याईदिनु भएको थियो । एक त कमजोर रुख त्यसमाथि दानै पिच्छे अरिंगाल। त्यो रुखमा चढेर नास्पाती टिप्ने जाँगर कसैले गर्थेन ।

रुखमा चढ्ने बिषयमा म सानै देखिको अलि सुरो नै हुँ । एक पटक त उत्रन नसक्ने चिलाउनेको रुखमा चढेर दिनभरी रुदै पनि बसेको छु । साँझपख ‘पाठक सेन्बाउ’ आएर रुखबाट उतारेको छ मलाई । त्यो दिन नास्पातीको रुखमा चढ्ने र टिपेर खाने हुटहुटिले बस्नखान दिएन मलाइ । निलो जाँगे लगाएको थिएँ । काभ्राको पटुवाले जाँगेलाई टनक्क कसें नफुत्कने गरि, अनि चढें अरिंगाल भन्किरहेको नास्पातीको रुखमा ।

अरिंगाललाई हामीले नचलाए सम्म टोक्दैन भन्ने सुनेको थिएँ । त्यसैले अरिंगाल नछोई अरिंगाललाई नचलाई दुई दाना नास्पाती टिपेर झर्ने र पाकेर रातै भएको नास्पाती कोपर्दै खाने बाहेक अरु रहर थिएन मनमा । रुखमा चढेर फल लागेको स्थान भन्दा अलिकति तल उभिएर यौटा नास्पाती समात्न खोज्दै थिएँ । मेरो जाँगेको भित्र केहि चले जस्तो भयो । मसिना पखेटाले फिरफिर पारेर छोए जस्तो भयो अनि भित्रभित्रै भुनभुनको आवाज आयो । मैले अरिंगाल होला भन्ने सोच्दै सोचिन । काउकुती लागे जस्तो भयो र मेरो हात अनायासै काछ नेर पुग्यो । नभन्दै त्यहाँ भित्र अरिंगाल नै छिरेको रहेछ । मेरो हातले छुने बित्तिकै कुठाममा यस्तो नराम्रोसँग टोक्यो अहिले पनि त्यो कुरा म शब्दमा बयान गर्न सक्दिन ।

मलाइ रन्थनाहट छुट्यो । आँखा अगाडी तोरीका फुला नाचे जस्तो भयो । पिसाब आउला आउला जस्तो पनि भयो । म रुखबाट फाल हालेर तल उत्रिएँ । त्यतिन्जेल सम्म पनि त्यो अरिंगाल मेरो जाँगे भित्रै भुनभुनाई रहेको थियो । म तल झरेर उत्तानो परेर डाँको छोडेर रुदै हातगोडा फाल्दै अफालिन थालेपछि त्यो उड्यो ।

अरिंगाल त उड्यो तर मलाइ भने पिसाब चुहिएला चुहिएला जस्तो हुने दिसा आउला जस्तो हुने भएर रिंगटा लागिरह्यो । त्यो टोकाईले मलाइ दुखेको काछमा हो कि घुँडामा हो कि घुँडामुनि नालीहाड पट्टि हो कि कता हो कता दुखे जस्तो चर्को दुखाइले म रन्थनिएको रन्थनिएई भएँ । गाजेझार मिचेर त्यसको फिँज लगाए निको हुन्छ भन्ने सुनेको थिएँ । हतार हतार गाजेझार खोजेर मिचें अलिकति रस आउने बित्तिकै अरिंगालले टोकेको ठाउँमा थोपो चुहाएको चहर्याएर मर्यो, झन्डै बेहोस भईन ।

भतभती पोल्यो, उठौं कि बसौं कसलाई सुनाउँ कि नसुनाउँ भएर घुमिरहेको छु । घरमा कोहि थिएन । अब बिस्तारै आमा दिदिहरु आउने बेला हुदैछ । आफु रोएर आँखा सुन्नीईसक्यो । किन रोएको भनेर कसैले सोधे के जवाफ दिनु, कसरि अरिंगालले टोकेको ठाउँ देखाउनु । म संग बेथा लुकाउने सिवाय अरु उपाय केहि भएन । अरिंगालले टोकेको ठाउँ झन् झन् सुन्निदै आयो । मलाइ दिसा आउला आउला जस्तो भयो । म लोटामा पानि लिएर गौंडी तिर गएँ । बस्नै आँटेको थिएँ पछाडी पट्टि अगी रुखमा हुँदा जस्तै भुनुनुको आवाज आयो । म फेरी कहालिएँ । फेरिपनि अरिंगालले नै टोक्यो भने बाचौंला जस्तो पनि लागेन । यसो पछाडी फर्केर हेरेको त्यहाँ झिङ्गो भन्किरहेको रहेछ । के जानौं बाबै, अरिंगालले टोकेको बिमारी झिंगाको आवाजसँग पनि सातोपुत्लो जाने गरि तर्सदोरहेछ। मलाइ दिसा लागेन, प्राण बचाउनलाई म उठेर कुलेलम ठोकें ।

धन्न मलाइ एक्लो अरिंगालले चिलेको थियो । बगाल नै धुरिएर चिलेको भए म के को हिडडुल गर्न सक्दो हुँ र । आफ्नो गुडको सुरक्षा गर्न जाइलाग्दा अरिंगाल झुण्डमा नै जाइलाग्छन । कालो अरिंगाल रातो लुगासँग तर्सन्छ तर कालो लुगालाई  झम्टन्छ अनि रातो अरिंगालले त्यसको बिपरित ब्यबहार देखाउछ भन्छन बुढा पाकाहरु।

कुहेका आँप, रुखबाट झरेर भुईमा पच्त्तै भएका नास्पतीका गेडा, कुहेर पिलपिल पानी चुहेका आरुबखडा साथै डुँङ्डुँङ्ती गन्हाईरहेको हगनगौंणी लगायत स्थानमा घुँईघुँई पखेटा घन्काएर उड्ने कीरो नै एक्ले अरींगाल हो । ठ्याक्कै कम्युनिष्ट जस्तै एकदमै रिसाहा र शिकारी टाईपको हुन्छ त्यो कीरा । नाकमा टोके नाकै बन्द,आँखा नजिक टोके आँखै बन्द, अन्त टोक्दाको बातै नमारम् भोग्नेलाई  मात्र थाहा हुन्छ त्यो पिडा । धुर्रिएर टोके भने मुन्छे मात्र हैन भैंसी पनि ढाल्न सक्चन तिनेर्ले …!

अरींगालले टोकेको उपचार गर्नी ओखती सुई केही पाईन्न । ट्याम बित्दै जाँदा सुन्नीएको पनि आफै घट्दै जान्च । कुहीएका फलफुल सकींदै जाँदा अरींगालको भन्काई पनि घट्दै जान्छ। मलाई पनि एक हप्ता जति खुट्टा फट्याएर हिड्न पर्ने बनाएको थियो । अहिले पनि त्यो अरिंगालको टोकाई समझँदा मलाइ त्यो ठामको जतिबिती माया लागेर आउँछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार