बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी

बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी


सिन्धुपाल्चोक

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ ।

पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ । बाँडेगाउँको आश्रमभित्रै सञ्चलाललाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो ।

सञ्चलालका छोरा महेन्द्र वाइवाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दर्ता गरी दुई सातादेखि अनुसन्धान अघि बढाइरहेको प्रहरीले अहिलेसम्म यसबारे केही बताएको छैन । ‘अनुसन्धानमै केन्द्रित छौँ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, ‘बलियो प्रमाण खोजी रहेका छौँ ।’ मुद्दा बलियो बनाउन ठोस प्रमाण नजुट्दासम्म अनुसन्धानका विषयमा जानकारी दिने अवस्था नरहेको उनले बताए ।

तपस्वीको भेष धारण गरी बम्जनले आफ्नो आश्रमभित्र अनुयायीहरुमाथि ‘बलात्कार, हत्या र हिंसाको दुस्चक्र चलाएको’ सार्वजनिक भएपछि प्रहरीलाई शीघ्र अनुसन्धानमा चौतर्फी दबाव छ । बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी (चेला, आनी) बेपत्ता भएको भन्दै पीडितका परिवारले सिन्धुपाल्चोकसहित मकवानपुर, नुवाकोट, बारा र सर्लाही प्रहरीमा जाहेरी दिएका छन् ।
नागरिकबाट

Logo