पूर्वसांसद दिलशोभाको कुखुरा व्यावसाय : मासिक दुई लाख आम्दानी

पूर्वसांसद दिलशोभाको कुखुरा व्यावसाय : मासिक दुई लाख आम्दानी


गुल्मी

गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ निवासी पूर्वसासंद दिलशोभा पुन पशुपालन व्यवसायमा लागेकी छन् । जनप्रतिनिधिको बढ्दो विलासी जीवन बिताउने होड चलिरहेका बेला पूर्वसासंद पुन भने आफ्नै घरमा व्यावसायिक पशुपालनमा लागेकी हुन् ।

जस अन्तर्गत टर्की, लोकल कुखुरा, गाई र बाख्रा व्यावसायिक रूपमै पालेकी छिन् । कुनै समय गुल्मीका अधिकांश आमसभामा भाषण गर्दैमा व्यस्त हुन्थिन् । मानिसहरूलाई पार्टीमा संगठित गर्ने कार्यमै सक्रिय हुन्थिन् । तर अहिले उनी घरमै भेटिन्छन् । घरमा पनि फुर्सदमा होइन्, विभिन्न काममा व्यस्त भेटिन्छिन् ।

गतवर्ष गुल्मी महोत्सव हेर्न सासंद पुन तम्घास पुगेकी थिइन् । उनको नजर टर्कीमा गयो । त्यहीँबाट उनले टर्की ल्याई पाल्न सुरु गरिन् । अहिले १० वटा टर्की छन् । जसमध्ये दुई वटा पोथी र आठ वटा भाले छन् । छिटो उत्पादन र बढी मूल्य पर्ने भएकाले व्यावसायिक टर्की पालन सुरु गरेको उनले बताइन् । अहिले भैरहवामा टर्कीको मासु प्रतिकेजी १ हजार २ सय, चितवनमा १ हजार ८ सय र बुटवलमा १ हजार २ सय पर्छ । तर उनले टर्कीको मासु प्रतिकेजी १ हजारमा बिक्री गरेकी छन् । ‘गाउँमै टर्की पालनको सम्भाव्यता अनुमान गरें, ठीकै होला जस्तो लाग्यो ।’ पूर्वसासंद पुनले भनिन्, ‘गर्दै जाँदा राम्रो हुन थालेको छ ।’

पूर्वसासंद पुनले टर्की मात्र होइन, कुखुरा पनि पाल्दै आएकी छिन् । सय वटा लोकल कुखुरालाई उनले व्यवस्थित खोरमा पाल्छिन् । गाउँमै बिक्री हुने र बजारको समस्या नहुने लोकल कुखुराको मूल्य प्रतिकेजी ८५० पर्छ । कुखुरा किन्न तम्घासबाट समेत व्यापारीहरू आउने गरेको उनले बताइन् ।

‘पहिले गाउँमा कसैले पनि कुखुरा पाल्ने थिएनन् ।’ उनले भनिन्, ‘तर अहिले धेरैले बोइलर पाल्न सुरु गरेका छन्, जसले गाउँमै मासुको सुविधा पुगेको छ ।’ उनले १८ वटा बाख्रा पनि पालेकी छन् । जसमध्ये तीन वटा बोका छन् । माउ १० वटा छन् भने अन्य साना पाठापाठी छन् । त्यस्तै, गाईपालनबाट दैनिक १० माना दूध हुन्छ । तर बजारको समस्या छ । पहिले तम्घास पठाउने भए पनि अहिले त्यो छैन । विद्यालयमा निःशुल्क खाजाको व्यवस्था भएपछि गाउँकै एक विद्यालयले केही दूध लैजाने उनले बताइन् । सबै गरेर अहिले कुल मासिक २ लाखसम्म आम्दानी हुने गरेको उनले बताइन् ।
राजधानीबाट

Logo