नेविसंघको म्याद थप गरेको विरोधमा देउवा निवासमा घेराउ

नेविसंघको म्याद थप गरेको विरोधमा देउवा निवासमा घेराउ


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर नेता–कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

नेविसंघको म्याद थपेको विरोधमा उनीहरुले नाराबाजी गर्दै देउवा निवास घेरेका हुन् । कांग्रेसले नेविसंघको वर्तमान कार्यसमितिको म्याद माघ १० गतेसम्मलाई थप गरेको थियो ।

विधानतह बुधबार रातिबाट केन्द्रीय कार्यसमिति स्वतः विघटन हुन भएपनि कांग्रेसले नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने निर्णय गरेको थियो ।

नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीमा दिएका थिए ।

यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा नेविसंघको अधिवेशन सम्पन्न भइसकेको छ ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।

थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन सकेन ।

Logo