डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन् : योगेश भट्टराई

डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन् : योगेश भट्टराई


इलाम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरले बुधबार आयोजना गरेको अन्तरक्रियामा उहाँले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’ को सङ्ज्ञा दिनुभयो । नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसदमा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताउनुभयो ।

“राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हुँदैन ?” उहाँले प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहनुभएका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा केसी अनशन बस्न इलाम आउनुभएको बताउँदै “तपाईहरू डा गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला भन्नुभयो ।”

“चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन”, उहाँले भन्नुभयो, “डा केसीले भने बमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० शैयाको र डेण्टल तथा नर्सिङका लागि १०० शैयाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

‘कालोधनको अनुगमन गर्ने निकाय छन्’

नेकपा नेता भट्टराईले डा केसीको मेडिकल कलेज स्वेत बनाउन खोजेको भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कालो धनका बारेमा अनुगमन गर्न सम्बन्धित निकाय भएकाले डा केसीले यसबारेमा बोल्नु उचित नभएको धारणा व्यक्त गर्नुभयो ।

डा केसीको आन्दोलन घातक

यता प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पनि प्रा डा गोविन्द केसीले गलत माग राख्दै गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको जिन्दगीमाथि खेलबाड गरेको आरोप लगाउनुभएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले आजदेखि सञ्चालनमा ल्याएको सिटीस्क्यान मेशिनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “डा केसीले कुनै राजनीतिक आडमा अनशन बसेको आम नागरिकले बुझिसकेका छन्, उहाँले शुरु गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको सपना र भविश्यसमेत अधुरो बनाउँदैछ ।”

पुर्वमन्त्रीसमेत रहनुभएका उहाँले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य अगाडि बढेको बताउँदै त्यसका लागि आवश्यक पर्ने ३०० रोपनी जग्गा भक्तपुरमा निर्माण हुन लागेका स्मार्ट सिटीबाट व्यवस्थापन गर्न सकिने भनाइ राख्नुभयो ।

अस्पतालका निर्देशक जीतेन्द्र श्रेष्ठले अस्पतालले शुरु गरेको सिटीस्क्यान मेशिनले यहाँका नागरिकलाई सहज सेवा दिन सकिने र सो सेवा लिन अब महङ्गा अस्पताल धाउनु नपर्ने जानकारी गराउनुभयो ।
रासस

Logo