अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य !

अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य !


सिरहा

सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन् । अभिलेख अनुसार कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी छन् । तर कक्षामा पढाइ हुँदैन ।

विद्यालय पुग्दा न अभिलेखमा भएका विद्यार्थी भेटिए न पढाउने शिक्षक भेटिए । भेटियो त विद्यार्थीको अभिलेख भरिएको रजिष्टर मात्र । रजिष्टरमा नाम भएका विद्यार्थी कक्षामा पढ्न आउँदैनन् । कक्षामा पढ्न नआए पनि उनीहरु परीक्षा फाराम भर्छन्, तोकिएको परीक्षा केन्द्रमा पुग्छन् र परीक्षा दिन्छन् ।

०६७–०६८ सालमा ११ र १२ कक्षा सञ्चालन अनुमति पाएको मनेलाल माविका पहिलो ‘ब्याच’ का विद्यार्थीले नियमित कक्षा लिन आएको शिक्षकहरु बताउँछन् । तर पछिल्लो ‘ब्याच’ का विद्यार्थी कक्षामा उपस्थित नभईकन वार्षिक परीक्षामा सहभागी हुँदै आएका छन् । विद्यार्थीले वर्षभरिको शुल्क पनि एकमुष्ट तिर्छन् ।

विद्यालयले विभिन्न शीर्षकमा कक्षा ११ का विद्यार्थीबाट वार्षिक चार हजार सात सय रुपैयाँ र कक्षा १२ का विद्यार्थीबाट चार हजार ५ सय रुपैयाँ शुल्क लिने गरेकोछ । शुल्क एकमुष्ट लिने गरिएको सहायक प्रधानाध्यापक श्रीप्रसाद यादवले बताए । उनका अनुसार विद्यालयले रजिष्ट्रेसन, परीक्षा, स्टेसनरी, पुस्तकालय र मासिक शिक्षणबापत शुल्क लिने गरेको छ ।

कक्षा सञ्चालन नभए पनि परीक्षाकै लागि विद्यालयले हाजिरी प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, लहानमा पठाउँदै आएको छ। प्रधानाध्यापक राजेन्द्र यादवका अनुसार खासगरी कक्षा ११ र १२ मा पढाउने छुट्टै शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको हो । शिक्षक नहुँंदा कक्षा नभएको उनले बताए ।
नागरिकबाट

Logo