नेपाल–जापान श्रम सम्झौता काठमाडौँमै हुने

नेपाल–जापान श्रम सम्झौता काठमाडौँमै हुने


काठमाडौँ

नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहिबार गर्नुभएको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो । उहाँले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्ने लगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकास लगायत क्षेत्रमा सहायताका लागि आग्रह गर्नुभएको थियो ।

जापान सरकारद्वारा ८७ लाखको मेडिकल उपकरण प्रदान

यसैविच जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली बराबरको क्यान्सर निदान सम्बन्धी अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ ।

अस्पतालमा विहिबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूतकी धर्मपत्नी एरिको साइगोले ती सामग्रीसहितको सम्झौतापत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदीप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएका मेडिकल उपकरणमा अल्ट्रासाउण्डसहितको पोर्टेबल इको कार्डियोग्राम (इसिजि) मेशिन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने इआरसिपी मेशिन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेशिन रहेका छन् ।

सो अस्पतालले वर्षेनी पाँच हजार भन्दा बढी क्यान्सरका बिरामीको रोग निदान गरी उपचार गर्नुका साथै विभिन्न समयमा विभिन्न ठाउँमा गएर क्यान्सर पहिचान शिविरसमेतको आयोजना गर्दै आएको कुरालाई मध्यनजर गर्दै जापान सरकारले अस्पताललाई ती उपकरण प्रदान गरेको जापानी राजदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रासस

Logo