पृथ्वीनारायण राष्ट्रिय एकताका प्रर्वतक : सन्दर्भ आज २९७ औँ पृथ्वीजयन्ती

पृथ्वीनारायण राष्ट्रिय एकताका प्रर्वतक : सन्दर्भ आज २९७ औँ पृथ्वीजयन्ती


काठमाडौँ

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार (आज) २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्री लगायत सो अवसरमा उपस्थित हुने बताइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्र्ने प्रतिष्ठानले जनाएको छ ।

बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाउनुभएको छ । सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने बुद्धिजिवीले बताउनुभएको छ ।

प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्र अन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा वि.सं १७७९ पुस २७ गते जन्मेका शाहले वि.सं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका वि.सं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए ।

आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।
शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा वि.सं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए ।

शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो ।

प्राज्ञ जगमान गुरुङले शाह नेपालको अस्तित्वलाई जोगाउने युगपुरुष भएको बताउँदै टुक्राटुक्रामा विभाजित नेपाललाई शाहले गरेको एकीकणका कारण अहिले नेपालीले सङ्घीय गणतान्त्रिक नेपालको सत्ता उपभोग गर्न पाएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जातीय धरातलभन्दा माथि उठेर साझा पहिचानमा अगाडि बढ्यो भने मात्र राष्ट्रिय एकता कायम हुन्छ ।”

आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहबाट अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति र समुदायबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको छ । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

शाहको एकीकरणका क्रममा भारतमा जस्तै नेपालमा पनि बेलायती साम्राज्यको प्रभाव पार्न खोजिए पनि नेपालीले मुसलमान र अङ्ग्रेज शासकबाट स्वतन्त्रता जोगाए ।
वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले विभिन्न भूगोलमा छरिएका खण्ड खण्ड राज्यलाई एकीकरण तथा त्यहाँका जनतालाई एकीकृत गरेर दुई ठूला देशबीच नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गर्ने महान् नेताका रुपमा शाहलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका विभिन्न जाति, धर्म र क्षेत्रको द्वन्द्धलाई मिलाउने महान् व्यक्ति शाहले साना राज्य–रजौटामा विभाजित देशलाई एकीकरण नगरेको भए आज हामी नेपाली नहुने उहाँको भनाइ थियो ।

इतिहासकार डा सुरेन्द्र केसीले नेपाल राष्ट्रका जनक शाहले विभिन्न राज्यमा विभाजित राज्यलाई विदेशी हस्तक्षेप हुनबाट जोगाउने कार्य गरेकाले नेपालीले सदैव उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । “भौगोलिक एकताले मात्र राष्ट्रिय एकता हुँदैन, राष्ट्रिय एकता हुनका लागि भावनात्मक एकताको खाँचो छ । भूगोलभित्र रहेको सम्पूर्ण जातजाति, धर्म, भाषाभाषी, साहित्य, लिपि, जीवन पद्धति आदिको समष्टिगत रुप नै राष्ट्र हो । सबै समुदायको समानुपातिक समावेशीसहितको समृद्ध र शान्तिपूर्ण नेपाल बनाउन सकिए मात्र राष्ट्रिय एकता हुनेछ” उहाँले भन्नुभयो ।
रासस

Logo