सप्तकोशीमा चल्न थाले पानीजहाज !

सप्तकोशीमा चल्न थाले पानीजहाज !


काठमाडौँ

संसद्को हिउँदे  अधिवेशनमा केही दिनअघि पानीजहाजको चर्चा चल्यो । सांसद्हरूले प्रधानमन्त्रीलाई पानीजहाजको टिकट कहाँ पाइन्छ ? भनेर व्यंग्य गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘पानीजहाज चढ्नका लागि धैर्य गर्न’ आग्रह गरे।

त्यसो त प्रधानमन्त्री ओलीले दुई वर्षअघि एउटा कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चलाउने घोषणा गरेका थिए । गत जेठमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा छ सदस्यीय ‘इन्यान्ड वाटर वे अध्ययन समिति’ पनि बनाएका थिए ।

समुद्रमा पानीजहाज चलाउने सरकारको योजनाले त अहिलेसम्म मूर्त रूप लिएको छैन तर नेपालकै सप्तकोशी नदीमा भने निजी क्षेत्रका लगानीकर्ताले  नेपाली झण्डा गाडिएका साना पानीजहाज (जेट बोट) धमाधम चलाउन थालेका छन् ।

हालै ‘बराहक्षेत्र मेरिन रिसोर्ट प्रालि’ले नयाँ २५ जना अट्ने जहाज ल्यायो । नेपाली झण्डा गाडिएको त्यो जहाज अहिले चाइनिज प्राविधिकले सप्तकोशीमा परीक्षणका रूपमा कुदाइरहेका छन् । प्रालिले अझै एक सय यात्रु अट्ने ठूलो जहाज र १०-१० जना अट्ने साना जहाज ल्याउन लागेको प्रालिका सञ्चालक नवीन पौड्याल बताउँछन् । बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनालले जहाजको उद्घाटन गरेका थिए । अहिले प्रालिले चार वटा जहाज चलाउन मिल्ने गरी सुनसरीको बराहक्षेत्र नगरपालिका १, चतराघाटमा आफ्नै पोर्ट र काउन्टर बनाइरहेको छ। प्रालिले चार वटा जहाज ल्याउन र कोसी टापुमा रिसोर्ट बनाउन गरी जम्मा करिब ८ करोड १२ लाख रुपैयाँको लगानी गरेको सञ्चालक पौड्यालले बताए। ‘हामी घुम्न आउने पर्यटकलाई पनि घुमाउँछौँ, पहाडका बासिन्दालाई यातायातको सुविधा पनि दिन्छौँ,’ उनले भने, ‘विपदमा परेकालाई र तत्कालै अस्पताल लैजानुपर्ने बिरामी, सुत्केरीलाई निःशुल्क सेवा दिनेछौँ ।’

अन्नपूर्णबाट

Skip This
Logo