‘गुठीको जग्गा आँखा अस्पताललाई’- मन्त्री अर्याल

‘गुठीको जग्गा आँखा अस्पताललाई’- मन्त्री अर्याल


सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले नेपाल आँखा अस्पतालको सेवालाई विस्तार गर्न अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।

उनले त्यसका लागि सरकारले गुठीसँग कुरा गरिरहेको पनि जानकारी दिए । सोमबार सो अस्पतालको स्तरोन्नति गरिएको ओपीडी हलको उद्घाटन गर्दै मन्त्री अर्यालले अस्पतालको माग अनुसार सेवा विस्तारका लागि अस्पताल परिसरमा रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

उनले अस्पतालको व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै विपन्न वर्गका लागि उपचारमा विशेष सहुलियतको व्यवस्था गर्न पनि अस्पतालका पदाधिकारीलाई निर्देशन दिए । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएलगत्तै मन्त्री अर्यालले सो अस्पतालको निरीक्षण गरेकी थिइन् । आफूले निरीक्षण गरेको बेला भन्दा अस्पतालको व्यवस्थापनमा धेरै सुधार आएको मन्त्री अर्यालको भनाई थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले अस्पतालको स्तरोन्नति गर्ने क्रममा ओपीडी सेवा हलको स्तरोन्नति गरी उद्घाटन गरिएको जानकारी दिए । दुई वर्ष अघि अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्पतालको अपरेशन थ्रिएटरको स्तरोन्नति गरेको थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पतालले ७० लाखको लगानीमा ओपीडी सेवा हलको स्तरोन्नति गरेको हो । ओपिडी हल स्तरोन्नतिका लागि नेपाल आँखा अस्पताललाई क्यानाडास्थित अपरेशन आईसाईट युनिभर्सल नामक संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

Logo