पुस्तक समिक्षा: ‘अक्षर सिम्फोनी’ भित्रका अक्षर केलाउँदा

पुस्तक समिक्षा: ‘अक्षर सिम्फोनी’ भित्रका अक्षर केलाउँदा


(ज्ञानमणि नेपाल कालोटोपी)

अक्षर सिम्फोनी कवि विमल वैद्यको कविता संग्रह हो । संग्रह पल्टाउँदै गर्दा लाग्छ उनी यसमा निकै शसक्त रुपमा उभिएका छन् । समाजमा भएका, हुने गरेका र भइरहेका विविध घटनाक्रमलाई कविताको रुपमा प्रस्तुत गर्न कवि यसमा सफल भएका छन् ।

४३ वटा कविता अटाएको यस कृतिले गद्य कविताको एउटा उत्कृष्ठ उदाहरण दिन खोजेको छ । यसमा कतै क्रान्तिको परिभाषा दिन खोजिएको छ त कतै रुढीवादी समाजलाई सचेत गराउन खोजिएको छ । कतै देशको समसामयिक परिस्थिती प्रति तिखो व्यंग्य प्रहार पनि गरिएको छ । प्रेमका गतिविधी पनि कविताको रुपमा अटाउन कवि सफल भएका छन् ।

जब सुन्न थाल्छन् कानले
काँचका आवाजहरु
मेरा अवयवहरु चनाखो बन्न थाल्छन्
भरिन्छन् गिलासहरु 

( रङ्गीन साँझ कविताको अंश )

यस्ता बिम्ब र प्रतिकहरु प्रत्येकजसो कवितामा छताछुल्ल भएका छन् । यसर्थ पनि कवि वैद्य आफ्ना कविताहरुमा बिम्ब प्रतिकको सहि समायोजन गर्न माहिर साहित्यकारका रुपमा दरिन्छन् ।

पत्थरको सहरमा
पाइला टेकेदेखि
तिमीसँगको दूरी
घट्न थालेदेखि
म पनि तिमी जस्तै ढुङ्गा बनेको छु

( म ढुङ्गा कविताबाट )

विषयवस्तु सामान्य जस्ता लाग्छन् । तर निकै गहन प्रस्तुति छन् । ‘चुनावपछि मेरो नग’र भन्ने कविता पढ्दा लाग्छ, त्यहाँ समाजका हरेक घटनाहरु एकैचोटी बोलेका छन् । चुनावको बेलामा गाउँ समाजमा जुन चहलपहल हुन्छ, नेताहरु भोट माग्न आश्वासनका पोका लिएर गाउँ छिर्छन् । कार्यकर्ताहरुको लहर पनि उस्तै हुन्छ । तर जब चुनाव सकिन्छ त्यसपछि ५ वर्ष सम्म कोहि फर्कदैनन् । यहाँ सम्मकी गाउँमा मलामी पनि पाईंदैनन् । न त नेताहरुले दिएका आशाहरु कहिल्यै पूरा नै हुन्छन् । कविले यस विषयलाई पनि कविताको रुपमा प्रस्तुत गरेका छन् ।

कविताहरु पढिरहँदा जुन मजा आउँछ, कतै कतै भने प्रयोग भएका शब्दहरु नै नबुझेर पाठकहरु अलमलमा पनि पर्न सक्ने अवस्था छ । भाषाशैली केहि जटिल पनि छन् । जस्तै अक्षर सिम्फोनी भनेर नामाकरण गरिएको संग्रहमा त्यो सिम्फोनीको अर्थ के हो भनेर पाठकलाई नै थाहा नहुने अवस्थालाई आगामी कृतिहरुमा कविले सुधार गर्नु जरुरी छ । किनभने जुनसुकै लेख वा लेख्य सामाग्री पाठकको लागि हो । जब पाठकले नै बुझेनन् भने त्यसको के काम ? यतातिर लेखक केहि मात्रामा चुकेका छन् । यसको मतलब समग्र कविता संग्रहमा खोट लगाउनै पर्छ भन्न खोजिएको भने होइन । किनकी सबैलाई उज्यालो छर्ने चन्द्रमामा पनि काला दागहरु हुन्छन् ।

यसर्थ कवि विमल वैद्य एउटा सफल कृतिकार र अक्षर सिम्फोनी उत्कृष्ठ कविता संग्रह बनेको छ भन्न शब्द कञ्जुस्याईं गर्नु पर्ला जस्तो मलाई लाग्दैन । मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको यसको मुल्य २ सय रुपैयाँ राखिएको छ ।

Logo