नेकपा सचिवालय बैठक एक घण्टा ढिलो हुने

नेकपा सचिवालय बैठक एक घण्टा ढिलो हुने


काठमाडौं ।

आजका लागि तय गरिएको नेकपा सचिवालय बैठक एक घण्टा पर सरेको छ । एक बजेका लागि तय भएको बैठक २ बजे बस्न लागेको हो । महासचिव विष्णु पौडेल आफ्नो कार्यव्यस्तता देखाएपछि बैठक सारिएको बताइएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आज बस्ने गरि सकिएको थियो । मंगलबारको बैठकमा दुई अध्यक्षले एकअर्कालाई लगाएको आरोप प्रत्यारोपसँगै प्रस्तुत गरिएका प्रस्तावहरुका विषयमा छलफल शुरु भएको थियो ।

तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा अ‍ोलीले बैठक थप १० दिन रोक्न माग गरेका तर अरू सदस्यहरूले त्यसमा आपत्ति जनाएका थिए । त्यसपछि ओलीले आजको बैठकमा आफू उपस्थित नहुने संकेत दिएका छन् ।

यस अघि मंसिर १३ गते बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका हुन् ।

यसअघि गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरे अनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए । आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनु पर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनु पर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।

गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ।

Logo