करणी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

करणी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ


दमौली

करणी मुद्दामा तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भानु नगरपालिका–११ रुपाकोटका बमबहादुर भुजेल रहेका छन् । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत भुजेललाई आज रुपाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

विसं २०५५ वैशाख २१ गते सोही ठाउँकी एक महिलालाई करणी गरेको आरोपमा भुजेल फरार रहेका थिए । अदालतले भुजेललाई दोषी ठहर गरी एक वर्ष चार महिना २९ दिन कैद सजायको फैसला गरेको थियो । भुजेललाई फैसला कार्यान्वयनका लागि आजै कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी चोरी र लागुऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका व्यास नगरपालिका–२ का बबिन शाक्य र लागुऔषध मुद्दाका सोही ठाउँका प्रदीप गोदार रहेका प्रहरीले जनाएको छ । अदालतले शाक्यलाई १३ दिन कैद तथा एक लाख ४३ हजार २७२ जरिवाना र गोदारलाई ६ महिना १६ दिन कैद तथा रु एक लाख जरिवानाको फैसला सुनाएको छ ।

यता लागुऔषधसहित भक्तपुरको कटुञ्जेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल सूर्यविनायक नगरपालिका ५ बस्ने ४९ वर्षीया लक्ष्मी शाही र सोही स्थान बस्ने भारतको विहार जिल्ला पूर्वी चम्पारण ग्राम खटुवा धनहरका २५ वर्षीय अमित कुमार रहेका छन् ।

सूर्यविनायक–५ कटुञ्जे एकता टोलस्थित शाहीको घरको दोस्रो तलामा लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा छापामारी उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । प्रहरीले उनीहरुका साथबाट नुफिन ३०० थान, फेनेरगन ३०० थान, डाइजेल्याब ३०० थान र ४८ हजार बरामद गरेको छ ।
रासस

Logo