प्रधानमन्त्री ओलीद्वारा पानीजहाजको समुद्घाटन !

प्रधानमन्त्री ओलीद्वारा पानीजहाजको समुद्घाटन !


ब्यंग्य

(कृष्णसिंह धामी)

काठमाडौं । आज पुस १६ गते अर्थात नेपालमा सुनौलो युगको सुरुवात भएको दिन । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपालः सुखी नेपाली’ अभियान अन्तर्गतको एउटा सपना साकार भएको दिन ।

आज बिहान सबेरै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशान्त महासागरमा पुगेर नेपाली झण्डा फहराउँदै नेपाली पानीजहाजको समुद्घाटन गरेका छन् । पानीजहाज समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सपना समयमै पूरा भएको भन्दै गर्व महशुस भएको बताएका छन् ।

‘मैले पुस १६ गते पानीजहाज चढ्न ठिक्क भएर बस्नु भनेको थिए नि’ उनले भने । पानीजहाजमा समुद्रको सयर गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘कागजको जहाज बनाएर चलाउनेहरुले अब नाक मुख कहाँ लुकाउने ?’

आफ्नो सपना समयमै पूरा भएकोमा मख्ख देखिएका प्रधानमन्त्री ओलीलाई जहाजमा यात्रारत नेपालीहरुले मुरीका मुरी स्यावासी दिए । उनीहरुले कसैले गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गरेको भन्दै ‘ओलीको बोलीः गोली’ भन्दै जयजयकार समेत गरेका छन् ।

अर्का पाइलट पुष्पकमल दाहाल (प्रचण्ड) ले हिन्द महासागरमा पुगेर अर्काे पानीजहाजको समुद्घाटन गरेका छन् । उनले पानीजहाज ल्याउनु अग्रगामी छलाङ भएको बताए । ‘हाम्रो महान पार्टीले लिएको अग्रगामी छलाङको नीति अनुरुप आज हामीले पानीजहाज भित्र्याएका छौ ।’ उनले भने ।

दुबै जहाजमा रहेका क्रु मेम्वरहरुले दिएको जानकारी अनुसार पानीजहाजभित्र नेपालीहरुले नौलो आभास अनुभूति गरिरहेका छन् । कोही सेल्फी खिच्न ब्यस्त छन्, कोही एक अर्काको फोटो खिच्न मस्त छन् । कोही भने भिडियो लाइभ गर्दै मख्ख छन् ।

भरिभराउ जहाजमा कतिपय भने डराएर आत्तिरहेका छन् । केही जोडीले पानीजहाजमा हनिमून मनाउनका लागि ‘हनिमुन प्याकेज’ बुकिङ गरेका थिए । उनीहरु भने पानीजहाजमा बसेर जीवनको उमंग साटिरहेका छन् ।

समुद्रमा नेपाली झण्डा फर्फराउँदै सरर कुदेको पानीजहाज हेर्दै धेरै नेपाली यतिबेला लाइनबद्ध छन् । उनीहरु आप्mनो पालो कुर्दै समुद्रमा कुदेको जहाज नियालीरहेका छन् । दुबै महासागरमा नेपालीहरुको लामो लाइन रहेको सम्पर्क कार्यालयले जानकारी दिएको छ ।

पानीजहाज चढ्नका लागि टिकट बुकिङ गर्नेहरुको लाइन पनि निकै लामो रहेको कम्पनीले जनाएको छ । सम्भावित खतरालाई ध्यानमा राख्दै सुरक्षा ब्यवस्था कडा बनाएको छ । समुद्रको सयर गरेर मज्जा लिनेहरुको ताँती त छदैछ साथै व्यापारीहरुको उपस्थिति पनि बाक्लो छ ।

भूपरिष्ठित देशका जनता नेपालीले समुद्र भन्ने कुरा केवल चलचित्र र फोटामा मात्रै देख्दै आएका थिए । तर आज समुद्रमै सररर यात्रा गरेर मज्जा लिन पाएपछि नेपालीहरु मख्ख देखिएका छन् । ट्रकबाट घ्याँरघ्याँर गर्दै हप्तौ लगाएर भित्र्याउनु पर्ने सामानहरु अब पानीजहाजबाट सरर भित्रिने भएका छन् ।

आजबाट हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा फहराईरहेको पानीजहाज देखेर विदेशीहरु पनि दंग परेर नियालीरहेका छन् । पानीजहाज चढ्न नेपालीहरुले गरेको तछाडमछाडलाई उनीहरु अनौठो मान्दै कानेखुसी गरिरहेका छन् ।

नेपालीहरुको ठेलमठेल लाइन र उत्साहलाई उनीहरुले आफ्नो क्यामेरामा कैद गरिरहेका छन् । यतिबेला दुबै समुद्रमा चन्द्र र सूर्य अंकित नेपाली झण्डा फहराउँदा नेपाली पानीजहाज समुद्रमा हुँईकिरहेका छन् ।

आज पुस १६ गते पानीजहाज चढ्न आउन प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममार्फत नै गत असार १४ गते निम्तो दिएका थिए । एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैलाई जहाजबाट कलकत्ताको यात्राका लागि निम्तो दिएका थिए ।

प्रधानमन्त्रीको उद्घोषसँगै आम सर्वसाधारणले टिकट बुकिङ गराएका थिए । टिकटको अत्याधिक माग आएकाले हामीले पनि आम नेपालीलाई समृद्ध युगको आभास दिलाउन सकेसम्म बढीभन्दा बढी नेपालीलाई घुमाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्रीले भनेको समयमा ठ्याक्कै आज पानीजहाज चलेपछि त्यतिबेला विरोध गर्नेहरु भने यतिबेला ट्वा परेको स्रोतको दावी छ । उनीहरुले खाली सपना मात्रै देखाउने प्रधानमन्त्री यसपटक भने एकदमै गतिलो काम गरेर प्रतिक्रिया दिएका छन् । तपाई पनि पानीजहाजमा चढेर समुद्रमा सयर गर्न चाहनुुहुन्छ भने ‘छ १२ छैन १३’ नम्बरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Logo