बंगलादेशमा हिंसाबीच मतदान सम्पन्न : १५ जनाको मृत्यु

बंगलादेशमा हिंसाबीच मतदान सम्पन्न : १५ जनाको मृत्यु


ढाका

बंगलादेशको संसदीय निर्वाचनमा हिंसाबीच मतदान सम्पन्न भएको छ । हिंसात्मक भीडन्त र मतदानमा धाँधलीको आरोपबीच आइतबार मतदान सम्पन्न भएको हो । निर्वाचनका क्रममा भएका झडपहरुमा कम्तिमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ ।

बंगलादेशको निर्वाचन आयोगले देशका केही क्षेत्रमा निर्वाचनका क्रममा धाँधली भएको सुनेको भन्दै त्यस विषयमा छानविन हुने जनाएको छ ।

यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना तेस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । उनको मुख्य राजनीतिक प्रतिद्वन्द्वी खालिदा जिया भने भ्रष्टाचारको आरोपमा जेल जीवन बिताइरहेकी छिन् ।

निर्वाचनमा सुरक्षाका लागि करिब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएपनि देशका विभिन्न स्थानमा भएका हिंसामा १५ जना मारिएका हुन् ।

विपक्षीले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको बताइएको छ । तर विपक्षीले भने सरकारले विपक्षीलाई दबाउन खोजेको आरोप लगाएका छन् । विगत केहीदिनदेखि हिंसात्मक घटना बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको थियो ।

सुरक्षाकर्मीलाई विभिन्न समूह तथा तहमा विभाजन गरेर मतदान केन्द्रदेखि गाउँगाउँसम्म खटाइएको छ । निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका छन् ।
एजेन्सी

Logo