काममा फर्कंदै मेलम्चीका ठेकेदार : फर्कनेमा शंका छ – कर्मचारी

काममा फर्कंदै मेलम्चीका ठेकेदार : फर्कनेमा शंका छ – कर्मचारी


काठमाडौँ

एक साता अघि एकतर्फी रूपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिबद्धता जनाएको छ ।

सिएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए ।

‘ठेकेदार कम्पनीले नयाँ वर्ष मनाएर फर्किएसँगै काममा फर्किने प्रतिबद्धतासहितको पत्र पठाएको छ,’ उनले भने, ‘पटकपटक वार्ता गरेरै सहमतिको वातावरण सिर्जना गरेका हौं । अब मेलम्चीको कामले निरन्तरता पाउने आशा छ ।’ सचिव ठाकुरका अनुसार मन्त्रालय र ठेकेदार कम्पनीबीचको विभिन्न चरणको वार्ताकै कारण स्थिति सकारात्मक बनेको हो । उनका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर ठेकेदार काममा फर्कनेछ ।

यता मेलम्ची आयोजनाका ठेकेदार कम्पनी काममा फर्किनेमा आयोजनामा कार्यरत कर्मचारी भने विश्वस्त छैनन् । ‘मेलम्ची ठेकेदार कम्पनी काममा फर्किन्छ भन्नेमा आशंका छ,’ एक अधिकारीले भने, ‘अनेक बहानाबाजी गरिरहने हुनाले सहजै विश्वास गर्न सकिने वातावरण छैन ।’ उनका अनुसार मेलम्ची ठेकेदार कम्पनीले बारम्बार अनावश्यक बार्गेनिङ गर्दै आयोजनालाई झुलाउँदै आएको छ ।
नागरिकबाट

Logo