विशाल चौधरी भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन आँखामा कालो पट्टी बाधेर पिटे’

विशाल चौधरी भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन आँखामा कालो पट्टी बाधेर पिटे’


कञ्चनपुर । निर्मला पन्तको हत्या कबुल गराउन प्रहरीले चरम यातना दिएको विशाल चौधरीले आरोप लगाएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मलाको घटना आफुले गराएको कबुल गराउन प्रहरीले चरम यातना दिएको दाबी गरेका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुर प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर काठमाडौं लगिएको थियो । कञ्चनपुर प्रहरी हिरासतमा रहेका बेला प्रहरीले चरम यातना दिएको उनको भनाई छ ।

आँखामा कालो पट्टी बाधेर एउटा बन्द कोठामा लगेर चरम यातना दिएको विशालको भनाई छ । ‘आँखामा कालो पट्टी बाध्यो । एउटा बन्द कोठामा राख्यो । जो आयो उसले हातले र लात्तीले हान्थे । ‘प्रदीपले स्वीकार गरिसक्यो त पनि स्वीकार गर’ भनेर धम्क्याउथ्यो, मैले केही गरेको छैन् भन्दा पिट्थ्ये’ उनले भने ।

धेरै पिटेपछि डरले अपराध स्वीकार गरेको उनले बताए । ‘धेरै हानेपछि डरले निर्मलाको हत्या मैले गरेको भनेको हुँ’ उनले भने । घटना भएको क्षेत्रमा लगेर धेरै धम्क्याएको उनको भनाई छ ।

अपराध गरेको प्रमाणित गराउन प्रहरीले घटनास्थल लगेर सबै यस्तो–यस्तो भन्नु भनेर सिकाएको विशालको भनाई छ । उखुबारीमा लगेर प्रहरीले उनलाई सुनाउने गरी ‘आज राति यता ल्याइ गोली हानेर मार्नुपर्छ । मरेपछि हिरासतबाट भाग्दा इन्काउन्टर भएको भन्ने ।’ भनको उनले बताए।  त्यसपछि डर लागेर ‘हत्या मैले नै गरेको हुँ’ भनेर स्वीकार गरेको उनले बताए  ।

कञ्चनपुरबाट काठमाडौं लगेपछि भने यातना नदिएको विशाल बताउँछन् । उनी भन्छन्, ‘काठमाडौं पुगेपछि यातना त दिएनन् । तर चियामा के हालेको रहेछ । चिया खाएपछि पुरै आँखा रातो रातो भयो । रिगटा लाग्यो । प्रदीपले पनि तलाई के भयो भनेर सोधेको थियो ।’

मैले नै हत्या गरेको स्वीकारेमा पुलिसको जागिर लगाईदिन्छौं भन्दै लोभ देखाएको उनी बताउँछन् । ‘काठमाडौंमा धेरै ठूला ठूला मान्छेहरु थिए । उनीहरुले हत्या स्वीकार गर । पुलिस बनाईदिन्छौं । टन्न पैसा दिन्छौं भन्दै लोभलालच देखाएका थिए ।’ उनले भने ।

उनी १६ दिन प्रहरी हिरासतमा बसेर गत शनिवार रिहा भएका थिए । उनीसँगै पक्राउ परेका प्रदीप भने प्रहरी हिरासतमै छन् । उनले सुरुमा हत्या कबुल गरेका थिए । प्रहरीले डिएनए रिपोर्ट म्याच नखाएपनि त्यो नै सबैथोक नभएको दावी गर्दै प्रदीपलाई हिरासतमै राखेको हो ।

बयानका क्रममा प्रदीपले बिर्य योनी बाहिर झरेको भनेका थिए । सोही बयानको आधामा प्रहरीले उनले डिएनए म्याच नखाएको दावी गर्दै आएको छ ।

Logo