दाङ बस दुर्घटना : शोकमा आज उपमहानगरपालिका भित्रका सबै विद्यालय बन्द

दाङ बस दुर्घटना : शोकमा आज उपमहानगरपालिका भित्रका सबै विद्यालय बन्द


लमही

तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिका भित्रका विद्यालय एक दिन बन्द हुने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख व्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको शनिबार बसेको बैठकले आइतबार (आज) विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिए । बैठकले यस क्षेत्रका निजि, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।

दुर्घटना प्रति एन प्याव्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख गरेको छ । विज्ञप्तिमा दुर्घटनामा परी मृत्यु भएका शिक्षालयमा अध्ययनरत विद्यार्थि तथा शिक्षक प्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

कृष्णसेन ईच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।
रासस

Logo