यसरी शुरु भयो नेपाली टोपी दिवस (भिडियो सहित)

यसरी शुरु भयो नेपाली टोपी दिवस (भिडियो सहित)


ज्ञानमणि नेपाल कालोटोपी

नेपाल विविध जातजाती र भेषभुषा लगाउनेहरुको साझा चौतारी हो । यहाँ बसोबास गर्ने सबै नागरिकहरुका आआफ्नै जातिय पहिचान झल्किने पहिरन छन् । अर्को अर्थमा भन्नु पर्दा कुनै व्यक्तिको पहिरनले नै ऊ कुन समुदायको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । यसर्थ पनि सबैको पहिचान झल्कने पोशाक हुनु जरुरी एकातिर छँदै छ भने अर्कातिर नेपालमा गणतन्त्रको शुरुवात पछिका केहि वर्षमै नेपालीको राष्ट्रिय पोशाक हटाईएको छ । विना कारण कुनै पनि देशको राष्ट्रिय पोशाक हट्नु भनेको त्यो देशको मौलिक संस्कृति हट्नु हो । पहिचान हट्नु हो अनि बहुसंख्यक नेपालीको आत्मसम्मानमा चोट पुग्नु पनि हो । बहुसंख्यक नागरिकको साझा पोशाकको रुपमा वर्षौं देखि जरा गाडेको नेपाली पोशाक दौरा, सुरुवाल, ढाकाटोपी र गुन्युचोलीलाई एकाएक हटाएर हाम्रा राजनितीक दलका नेताहरुले कुन फाइदा लुटे त्यो त उनीहरु नै जानुन् तर उनीहरुले हामीहरुलाई राष्ट्रिय पोशाकविहिन बनाएर ३ करोड नेपालीलाई टुहुरो चैं बनाएरै छोडे ।

त्यसैले जन्म भयो नेपाली टोपी दिवसको । अनि त्यसको साइत जु¥यो अंग्रेजी वर्षको पहिलो दिन अर्थात जनवरी १ । किन जनवरी १ मा नै नेपाली टोपी दिवस त ? किन नेपाली नयाँ वर्ष बैशाख १ गते चाहिं गरिएन त भनेर पनि प्रश्न उठ्ने गरेको छ । यसको पनि आफ्नै कारण छ । पछिल्ला दिनहरुमा नेपाली युवाहरुले नेपाली चार्डपर्वहरुलाई भुसुक्कै विर्सिएका छन् । उनीहरु पश्चिमा संस्कृतिको अनुशरण गर्दै गर्दा नेपालीपन भुल्न पुगेको यथार्थ छर्लङ्गै छ । हामीहरु अंग्रेजी नयाँवर्षमा ह्याप्पी न्यू एयर भन्न लजाउँदैनौं बरु नेपाली नयाँवर्षको शुभकामना भन्न चाहि धक मान्छौं । त्यसैले पनि हामी आज हरेक कुरामा पछि मात्रै परेका छैनौं, आफ्नै कारणले अरु बाट हेपिएका पनि छौं । यो हेपाईको अन्त्यका लागी र पश्चिमा संस्कृतिको पालना गरिरहेका बहुसंख्यक हाम्रा युवायुवतीहरुलाई जनवरी १ मा पनि नेपाली पहिचान झल्किने खालका कार्यक्रमहरु पनि गर्न सकिन्छ है भनेर सन्देश दिने उद्देश्यले हामीले जनवरी १ लाई नै नेपाली टोपी दिवसका रुपमा छनौट गरेका हौं ।

हुन त पछिल्ला दिनहरुमा जनवरी १ का दिन धेरै संस्था, क्लव र व्यक्तिहरुले आआफ्नै तरिकाले राष्ट्रियता झल्किने खालका कार्यक्रमहरु गर्ने गरेको पाइएको छ । कसैले राष्ट्रिय पोशाक दिवस भनेर पनि मनाईरहेका छन् भने कसैले ढाकाटोपी दिवस अथवा कसैले नेपाली टोपी दिवस भनेर मनाउँदै आएका छन् । जो जुन बाटो बाट हिंडेर गए पनि आखिर गन्तव्य भने एउटै हो । सबैको चाहना सरकारलाई राष्ट्रिय पोशाक चाहियो र राष्ट्रिय टोपी दिवस पनि चाहियोे भनेर दवाव दिने नै हो । यसर्थ पनि यसमा धेरैको साथ र सहयोग त एकातिर छँदैछ भने अर्का तिर दिनप्रतिदिन राष्ट्रिय ओतप्रोतले भरिएका युवा जमातहरुको संख्या पनि वढीरहेको छ । हामीहरुको दबाबले नै हाम्रा नेताहरुको चेत खुल्ने छ भन्ने हामीले आशा गरेका छौं ।

नेपाली टोपीकै कुरा गर्ने हो भने यस अन्र्तगत ढाकाटोपी र भादगाउँले कालोटोपी पर्दछ । मुख्यतया यी दुई खालका टोपीहरुले नेपाली टोपीको प्रतिनिधित्व गरे पनि यस भित्र अन्य समुदायले लगाउने टोपीहरु पनि पर्छन् भनेर चाहिं हामीले भुल्नु हुँदैन । जे भए पनि ढाकाटोपी र कालोटोपीले भने पुरै नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गरेका छन् । ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमालीभेगको प्रतिनिधित्व गरेको छ । विचको भिरालो भागले पहाड र तलको भागले समथर तराईलाई चिनाएको छ । यसर्थ पनि यी टोपीहरुको महत्व धेरै छ । यसो भनिरहँदा अरु टोपीहरुको महत्व छैन भनेर भन्न खोजेको चाहिं पक्कै होइन ।

नेपाली टोपी दिवस कहिले मनाउन थालियो भनेर पनि धेरै जनाले सोधेको प्रश्न हो । धेरै जनालाई त थाह भएकै हुनु पर्छ । नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुले विगत ६ वर्ष देखि जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आइरहेका छन् । शुरुका २ वर्ष यो दिवस सामाजिक संजालमा मात्र सिमीत भयो । तर विगत ४ वर्ष देखि भने यसलाई औपचारिकता दिने गरि सार्वजनिक कार्यक्रम गर्दै धेरै संघसंस्थाहरुले नेपाली टोपी दिवसको विधिवत शुरुवात गरेका छन् । यसैक्रममा जागरुक युवा अभियान नेपालले पनि यसलाई निरन्तरता दिन थालेको हो । यस संस्थाले विगत ४ वर्ष देखि औपचारिक कार्यक्रम गरि नेपालीटोपी दिवसलाई भव्यताका साथ मनाउँदै आइरहेको छ । यसवर्ष पनि उसले जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै छ । यसकारण जसले आफूले यो दिवस मनाउन शुरु गरेको भनेर दाबी गरेपनि गणतन्त्र स्थापनापछि राष्ट्रिय पोशाक विहिनताको अवस्थामा रहेका लाखौं युवायुवतीहरुले कमसेकम टोपीलाई मात्र भएपनि राष्ट्रिय पहिचान झल्किने पहिरनको मान्यता दिउँ भनेर स्वतःस्फूर्त रुपमा यो दिवस मनाउन शुरु गरेका हुन् ।

यति भनिरहँदा पनि हामीले यो विर्सनु हुँदैन कि हामी अहिले पनि राष्ट्रिय पोशाक विहिनताकै अवस्थामा छौं । जहाँ जाँदा जति ठूला भाषण गरेपनि हाम्रा नेतृत्वहरुले अहिले सम्म नेपाली पहिचान झल्किने कुनै पनि पोशाकको आवश्यकता नै देखेका छैनन् । हुन त वर्तमान सरकारले दौरा सुरुवाल र कालोटोपी तथा महिलाहरुको पहिचान झल्किने पहिरन लगाएर सार्वजनिक कार्यक्रममा उपस्थित हुन सांसद तथा मन्त्रीहरुलाई आव्हान त गरेको थियो । तर पोशाकलाई औपचारिकता दिन भने अझै सकेको छैन । न त मन्त्री र सांसदहरुले नै यसलाई कार्यान्वयन गरेका छन् ।

तर पनि कुनै जाती विशेषका चार्डपर्वहरुमा जाँदा हाम्रा नेताहरु उनीहरुका टोपी लगाएर राष्ट्रियताको झल्को दिने नाटक भने अहिले पनि गरिरहेका छन् । जागरुक युवा अभियानको मुख्य उद्देश्य भनेको जसले हाम्रो मौलिक पहिरनलाई पररर ताली ठोकेर संसदबाट हटाए, संविधानबाट हटाए तिनै नेताहरुले त्यसरी नै ताली ठोकेर हाम्रो पहिचानलाई पहिले जसरी नै संविधानमा अटाउने वातावरण बनाउन् भन्नु नै हो । यसर्थ पनि हाम्रो यो अभियान चलि नै रहन्छ । तपाई हामी जुन ठाउँमा छौं, जे गरिरहेका छौं त्यो काम निरन्तर गरेरै पनि सके सम्म सबै पहिचान झल्किने पोशाक सधैं लगाउँ , सधैं सकिदैन भने एकदिन मात्र भएपनि लगाएर राष्ट्रियतालाई बचाई राखौं भनेर नै नेपाली टोपी दिवसको थालनी भएको हो । तर यस दिनलाई औपचारिक रुपमा नेपाली टोपी वा राष्ट्रिय पोशाक दिवस भनेर अझै पनि हामीले मनाउन पाएका छैनौं ।

जागरुक युवा अभियान नेपालको उद्देश्य नेपाली टोपीलाई बचाउँदै जनवरी १ लाई नै टोपी दिवसको रुपमा सधैं मनाउने वातावरण मिलाउन सकियोस भन्नु नै हो । यसर्थ यसमा सबैको साथ र सहयोगको उतिकै जरुरी छ । तर यसका आलोचकहरुले टोपीलाई धोतीसँग वा अन्य पहिरनसँग तुलना गर्दै आफ्ना संकृर्ण धारणाहरु सार्वजनिक गर्दै आएका पनि छन् । ती आलोचनाहरुले यस दिवसलाई कुनै असर भने पक्कै गर्दैन ।

विगत कार्यक्रमकै निरन्तरता स्वरुप यसवर्ष पनि आगामी पुस १७ गते अर्थात अंग्रेजी महिनाको पहिलो दिन जनवरी १ मा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर सम्म प्रभातफेरि कार्यक्रमको आयोजना गर्दैछ । यस दिन सबैलाई नेपाली पहिचान झल्किने पोशाक लगाएर उपस्थित हुन पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । यो महान अभियानमा कोहि नछुटौं , सके सम्म समेटौं भन्ने आग्रह गर्न चाहन्छौं । हेरौं भिडियोमा :

Logo