सांसदको घरभाडा विवाद समाधान भएको संसद सचिवालयको दावी

सांसदको घरभाडा विवाद समाधान भएको संसद सचिवालयको दावी


काठमाडौं । काठमाडौंमा घर भएर पनि घरभाडा वापतको रकम लिने सांसदका कारण सिर्जित समस्या समाधान भएको छ । संघीय संसद सचिवालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै उक्त समस्या समाधान भएको जनाएको हो ।

संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ले ‘केही माननीय सदस्यले काठमाडौं उपत्यकामा घर भए नभएको विवरण उपलब्ध नगराउनु भएको कारण सिर्जित समस्या समाधान भएको छ । माननीय सदस्यले प्राप्त गर्ने पारिश्रमिक, घरभाडालगायत अन्य सुविधा भुक्तानीको विवरण माग अनुरुप माननीय सदस्यलाई उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी गराइन्छ।’

विज्ञप्तिमा सञ्चार माध्यमा सम्प्रेषण भए जस्तो सांसदलाई बढी रकम भुक्तानी नहुने र भएमा स्वतः समायोजन गरिने व्यवस्था भएको उल्लेख गरिएको छ। तथ्यांकीय गल्तीलाई आधार बनाएर तयार पारिएको समाचारले जनप्रतिनिधिको आत्म सम्मानमा चोट पुगेको विज्ञप्तिमा उल्लेख छ।

‘विगत आश्विन महिना अघिको तथ्यांकलाई अध्यावधिक नगरी सूचना लिएको दुई महिनापछि सम्प्रेषण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा माननीय सांसदले समय समयमा उपलब्ध गराउनु भएको सूचनाका आधारमा सचिवालयबाट भुक्तानीमा भएका सामान्य तथ्यांकीय गल्तीलाई आधार मानी सम्प्रेषित समाचारबाट सम्माननित जनप्रतिनिधिको आत्म सम्मानमा चोट पुगेको छ।’

Logo