चालु आर्थिकवर्षमा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता

चालु आर्थिकवर्षमा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता


काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् ।

प्राधिकरणले सम्झौता गरेका ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । प्राधिकरणले उक्त आयोजनाका प्रवद्र्धकलाई यथाशक्य चाँडो वित्तीय व्यवस्थापन गरी निर्माणमा जान आग्रह गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो दिन अर्थात् गत साउन १ गते आरती पावर कम्पनीले भोजपुरमा निर्माण गर्न लागेको १४ दशमलब ५० मेगावाट क्षमताको माथिल्लो इरखुवा जलविद्युत् आयोजनासँग सम्झौता गरेको थियो ।

यस्तै संखुवासभामा आयोजनास्थल रहेको १२ मेगावाट क्षमताको दूधकुण्ड खोला, एक दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो गडीगाड गरी कूल १६ आयोजनासँग सम्झौता गरेको छ । यस्तै गत भदौमा १३ आयोजनासँग विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणका अनुसार गत असोजमा ११ जलविद्युत् आयोजनाको प्रवद्र्धकसँग सम्झौता हुँदा कात्तिकमा तीन आयोजनाको प्रवद्र्धकसँग मात्र त्यस्तो सम्झौता भएको थियो । यस्तै मङ्सिरमा नौ आयोजनाको प्रवद्र्धक र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता भएका थिए ।

पछिल्लो समयमा प्राधिकरणले विद्युत् खरीद सम्झौतामा पुनरावलोकन गरेको छ । सोही आधारमा पाँच हजार २५० मेगावाट क्षमतासम्म नदी प्रवाही आयोजनाको सम्झौता हुनेछ । यस्तै थप ७० मेगावाट क्षमताका १२ आयोजनासँग निकट भविस्यमा नै सम्झौता गर्ने तयारी गरिएको छ ।

प्राधिकरणले पछिल्लो दिनमा अर्धजलाशय प्रकृतिका आयोजनासँग सम्झौता गर्ने तयारी गरेको छ । गत मङ्सिर २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् खरीद सम्झौता ‘टेक अर पे’ मा गर्ने निर्णय गरेको छ ।
कारोबारबाट

Skip This
Logo