निर्मला हत्याकाण्डः ५ सय ३२ पृष्ठको गोप्य प्रतिवेदन आईजीपीलाई बुझाईयो

निर्मला हत्याकाण्डः ५ सय ३२ पृष्ठको गोप्य प्रतिवेदन आईजीपीलाई बुझाईयो


काठमाडौं । एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणबारे ५ सय ३२ पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

निर्मला हत्याकाण्डमा प्रहरीको भूमिकाबारे तयार पारिएको प्रतिवेदन प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललाई बुझाईएको छ । प्रतिवेदनमा उक्त काण्डमा प्रहरीले गरेको अनुसन्धान, लापरवाही गर्ने प्रहरी अधिकारी लगायतका बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै भूमिकामाथी शंका उठेपछि प्रहरी प्रधान कार्यालयले गत साउनमा एआईजी बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिलाई प्रहरीको भूमिकाबारे आन्तरिक अनुसन्धान तयार पारेर प्रतिवेदन तयार पार्न निर्देशन दिईएको थियो ।

बस्न्यात नेतृत्वको समितिले अनुसन्धानमा संलग्न ३६ जना प्रहरीमाथि कारवाहीको सिफारिस गरेको छ । यसअघि नै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर जगदिश भट्ट बर्खास्तीमा परिसकेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।

प्रतिवेदनमा बाँकीलाई निलम्बन र बर्खास्तबाहेक विभागीय कारवाहीको सिफारिस भएको छ । तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् । समितिले झण्डै ३ महिना लामो गृहकार्यपछि प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्टको बयानदेखि तल्लो तहका प्रहरी कर्मचारीको बयान समेटिएको छ । गत साउन १० गते साथीको घरमा गएकी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रतिवेदनमा केही प्रहरीले जिम्मेवारी निर्वाह नगर्दा संगठनकै छविमा दाग लागेको आशय समेटिएको छ ।

Logo