पुस्तक अंश: ‘छोरी ! राम्ररी घर गरिखानू ।’

दुलही घर । म सिँगारिएकी थिएँ । घर पनि चिटिक्क सिँगारिएको थियो । वरिपरि साथीसँगी र छिमेकका मान्छेहरूले घेरेका थिए ।
‘जन्ती आइपुगे…,’ बाहिरबाट आएको कसैको अवाज सुनें । घरकै मुनितिर, डिलको छेउमा केराको खम्बाको गेट बनाइएको थियो । छेउ–छेउमा तामाको गाग्रीमा फूल हाली कलश बनाएर सजाइएको रहेछ ।

सबैजना त्यही गेटमा झुम्मिन गए । रातो कपडामा सेता अक्षरमा ‘शुभ विवाह’ लेखिएको थियो । म त अचम्मित थिएँ । मेरो विवाहमा बाउले कति दुःख गरेछन् । कसले बनायो होला त्यो तुल ? कसलाई सिँगार्न भने होलान् त्यो गेट ? मनमनै भनें– ‘मेरा बाउ साँच्चै देवता हुन् ।’
स–साना केटाकेटीहरू खुब मज्जाले उफ्रिरहेका छन् गेट वरिपरि । आवाज सुनेरै पनि बाहिरको सबै गतिविधि थाहा हुन्छ ।
नरसिङ्गा र दमाहा बाजाको तीखो आवाज कानसम्मै आएर रोकियो । त्यो अवाजले म थरर्र काँपेछु ।

‘के भो तँलाई ?’ सँगैको कोही बोल्यो ।
‘क्यै भको छैन’ भन्दै टारिदिएँ । बाजाको आवाजसँगै मेरो मुटु भने जोडजोडले थर्किरहेथ्यो । डर थियो मनमा । किन डर लागेको आफैंलाई थाहा थिएन । कताकता सपनाजस्तो लागिरहेको थियो ।

म झस्कें, बाहिरबाट आएको आवाजले । बाहिर कोही बोलेको थियो– ‘बेहुलीलाई बाहिर ल्याउनुप¥यो ।’
बिस्तारै मलाई डो¥याउँदै बाहिर निकाले । अनुहारबाट खुन चुहिएलाझैं भयो । पानीपानी भएँ म, लाजले ।

मगर्नी काकीले सिकाएकी थिइन्– ‘बेहुली भएको बेलामा बिस्तारै हिँड्नू, घुम्टोले मुख छोप्नू । कसैको मुखमा सीधा नहेर्नू ।’ कुन्नि केके सिकाएकी थिइन् । अरू त बिर्सेंछु । उनी मेरी आफ्नै काकी नभए पनि उनी मलाई आफ्नै छोरीझैं माया गर्छिन् । औधि माया गर्छिन् । मगर्नी भए पनि मनको सारै सफा छिन् । मगर काका चैं अलिक रक्सी पिउँछन् । मेरो बाउलाई आफ्नै परिवार सम्झन्छन् । काकीले सारै ठूलो उपकार गरेकी छन् । काकीले सिकाए पनि मनले मानेन । छड्के आँखाले यताउति हेर्न मन लाग्यो । आइमाईहरू एक–आपसमा कानेखुसी गर्दै थिए । कोही चुपचाप हेरिरहेथे । कुरा गर्नेहरूले मेरै कुरा गर्दै होलान् जस्तो लाग्यो ।

बाउ सेतो फेटा टाउकोमा बाँधेर हात जोड्दै घरी ओल्लो छेउ, घरी पल्लो छेउ गर्दै थिए ।
मलाई माला समाउन दिएपछि पुरोहित बोले– ‘अब बेहुलीले बेहुलालाई माला लगाइदिनुप¥यो ।’

पुरोहित हतारहतारमा थोत्रो किताबको मन्त्र भट्याइरहेका थिए । बेहुलालाई माला लगाइदिने भन्ने सुन्दा मन च्वास्स भयो । हातमा लिएको माला एक गाग्री पानी उचालेझैं गह्रौं लाग्यो । थरर्र काँपे हात । अब मेरो सम्पूर्ण जीवन समाप्त भएझैं लाग्यो । भाउन्न रिँगटा लागेर आयो । बेहुलाको अनुहारतिर हेर्न नै सकिनँ, जेनतेन मैले उसको घाँटीमा माला छिराएँ ।

हिजो बेलुकादेखि खाना खाएकी थिइनँ । बेलुका मन मरेर अनि बिहानदेखि केही खान नदिएर खाइनँ ।
काकीले हात समातेर भित्र लगिन् । खाटमा पल्टें । सास रोकिएलाझैं भयो । चिसो पानी मागेर घटघट… पिएँ । एक हूल केटीहरू ह्वारह्वार्ती कोठामा छिरे । कसैले हातमा चुरा लगाउन थाले, कसैले मेहन्दी । कसैले अनुहार सिँगार्न थाले । म अब पूरै बेहुुली भएँ ।
फेरि मलाई बाहिर ल्याएर विवाहमण्डपमा बसाइयो । कसैले श्लोक भन्न सुरm गरेछन् । आइमाईहरू भट्याउँदै थिए:

बारीको छेउछेउ बसिहाले कोइली, सासूले भात दिन्थिन् पिपलपाते चोइली… !
कपाल कोरीबाटी कपालभरि लिसो, बजैले तिउन दिन्थिन् डाडु मात्रै चिसो… !
आँगनको अर्को छेउमा बाजाको तालसँगै नाच्नेहरूको पनि कमी थिएन । उफ्रीउफ्री नाच्दै थिए केटाहरू ।
मण्डपमा हामी लगनगाँठोमा कसिँदै थियौं । लगनगाँठो कस्दा जनैसुपारी भुइँमा खस्यो । सबैले अशुभ भएको महसुस गरे तर बोली कसैको आएन ।
म अकमक्क भएँ । मण्डपमा तीन फन्को घुमेपछि थाहा भयो, सिन्दूर हाल्ने बेला भएछ । म सिउँदो छुट्याउन पनि जान्दिनथें ।
सिन्दूर हाल्ने बेला पुरोहित भन्दै थिए– ‘माइतीले हेर्नुहुँदैन ।’ बेहुलाले मेरो सिउँदो भरिदिए । अरूहरूले रmमाल खोजेर सिन्दूर छोपिदिए ।
कन्यादान गर्दै गर्दा कालसिङ्गे बाको श्लोकले मन नै थामिएन– भित्रदेखि छमछम बलेसीमा आऊ न…., फुको केश भोको पेट कन्यादान देऊ न… !
मेरो विवाह हिन्दू रीतिरिवाज र परम्परा अनुसारै हुँदै थियो । मलाई लाग्यो, अब म बाउकी छोरी रहिनँ । म रोएँ । छड्के परेर बाउलाई हेरें, उनका आँखा पनि रसाएका थिए । श्लोकहरू गुन्जिरहेकै थिए–

‘बिहानै र बेलुका जलुकाको तिउन, मेरा माइती दुःखी थिए केको दाइजो दिऊन्… !’
‘गाईबस्तु वनमा झसङ्ग मनमा, जसको लहना तेसैको गहना सिन्दूर प¥यो माथमा ।’
‘गाई चर्न गए मथुरा वनमा, केके हुन्छ थाहा छैन मनमा ।’

विवाह सकिएछ । मलाई बिदाइ गर्ने बेला भएछ । बाउ बिदाइ गर्न तम्सिए । पुक्क फुलेको थियो उनको मुख । हातगोडा पनि सुन्निएका थिए । दिनभर के खाए या खाएनन्, थाहा छैन । अरू दिन दुई–तीनपटक मरिच–पानी खान्थे ।

तिनै बाउ आज आफूलाई एक्लो बनाएर मलाई बिदा गर्दै थिए । बिदाइ गर्नुअघि बाउले बेहुलाका बाउसँग के–के खासखुस कुरा गरे । अनि म नजिकै आएर कानमा फुस्फुसाए– ‘छोरी ! राम्ररी घर गरिखानू । मेरो पीर नगर्नू, अब तेरी आमाले आसिक दिन्छे मलाई । म अझै धेरै बाँच्छु ।’
बाउका कुराले म निकै रोएँ । टाउको ठोकीठोकी रmन मन लाग्यो । मलाई अघि बढाएर कमिजको फेरले मुख छोपेर बाउ फर्किए । मेरो मनले मानेन, अलि अगाडि पुगेपछि फर्किएर हेरें । अनायास म रmँदै कराएछु– ‘बा..बु… !’

(मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको उपन्यास छाप्रो नं. ५५ को अंश)

सम्बन्धित समाचारहरु

ताजा समाचार