नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो

नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो


बेत्रावती

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ ।

घटनास्थलबाट उद्धार गरिएका मध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो । अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । गाडीमा ४० भन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो ।
रासस

Skip This
Logo