सचेत बन्दै नेपाली, आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

सचेत बन्दै नेपाली, आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी


ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले जानकारी दिए ।

कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो । उनले भने, “त्यसैले पनि मापदण्डअनुसार नचल्दा आफ्नो ठाउँमा बस्नै गाह्रो भएको भन्दै उजुरी आइरहेको छ ।”

पहिलेभन्दा अहिले आयोगमा उजुरी कम भए पनि आएका उजुरीको प्रकृति बदलिएको आयोगले जनाएको छ । द्वन्द्वकालमा जघन्य अपराधसम्बन्धी मात्रै उजुरी आउँथ्यो । नागरिकमा जघन्य अपराधमा बाहेक आफ्नो अधिकार हनन भएकामा सचेत थिएनन् ।

अहिले भने नागरिकमा सचेतना आउँदा वातावरण प्रदूषण, खाद्यान्नमा मिसावट, वैदेशिक रोगजारीमा देखिएका समस्यासम्बन्धी उजुरी आइरहेका छन् । उनले भने, “पहिलेभन्दा अहिले फरकफरक खालका उजुरी आइरहेको छ ।”

वातावरण प्रदूषणले नागरिकमा असर परेको भन्दै उजुरी आइरहँदा आयोगले सरकारलाई वातावरणमा प्रतिकूल असर नपर्ने गरेर उद्योग सञ्चालन गराउन सिफारिश गरेको छ । आयोगले सरकारलाई नियमित रूपमा अनुगमन र गल्ती भेटिँदा कारवाही गर्न सरकारलाई भनेको छ । रासस

Logo