यी हुन् आफ्नै बाबु विरुद्ध उजुरी गर्ने सात वर्षीया बालिका !

यी हुन् आफ्नै बाबु विरुद्ध उजुरी गर्ने सात वर्षीया बालिका !


नयाँदिल्ली

भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै उजुरी गरेकी छन् । हानिफा जारा नाम गरेकी ती बालिकाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको र शौचालय बनाउने वाचा बाबुले पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय नागरिक अझै पनि खुल्ला ठाउँमा शौच गर्छन् ।

कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन ।

बीबीसी तमिलकी कृतिका कन्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन् । हनिफाले नर्सरीमा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन् ।

उनले भनिन्, ‘बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो ।’ शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताइन् । प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन् ।

पत्रमा उनले लेखेकी छन्, ‘नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु । मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनु भएको छ । यो एक किसिमको धोका हो । त्यसैले उहाँलाई पक्राउ गरियोस् ।’

हनिफाका बुवा एहसानुल्लाहले घरमा शौचालय बनाउन थालिसके पनि रकम अभावमा त्यो पूरा हुन नसकेको बताएका छन् । उनी अहिले बेरोजगार छन् । उनले भने, ‘मैले हनिफासँग थप समय मागेँ तर मैले वाचा पूरा गर्न नसकेकोले उनले मसँग बोल्नै छाडिन् ।’
एजेन्सी

Logo