१० महिनापछि ‘अन्तर प्रदेश परिषद्’ बैठक सिंहदरबारमा शुरु

१० महिनापछि ‘अन्तर प्रदेश परिषद्’ बैठक सिंहदरबारमा शुरु


काठमाडौं । अन्तर प्रदेश परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १० महिनापछि पहिलो पटक परिषद् बैठक सुरु भएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो साढे १२ मा मात्र शुरु भएको हो।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, नेपाल सरकारका मन्त्रीहरु लगायत सहभागी छन् । भदौ २४ मा आयोजित बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरुले बैठक माग गर्दै आएका थिए।

बैठकमा मुख्य सचिवले स्वागत मन्तव्य राखेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीको पावर पोइन्ट प्रेजेन्टेसन गर्नेछन्। उक्त प्रस्तुतिमा प्रदेशमा बनाउनुपर्ने नीतिलगायतका विषय समेटिएको बताइएको छ।

लगत्तै नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरुको प्रस्तुति रहने कार्यतालिका रहेको छ। सचिवहरुको प्रस्तुतिपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको मन्तव्य र महान्याधिवक्त अग्नि खरेलको मन्तव्य रहेको छ।

त्यसपछि सातै प्रदेशका मुख्यमन्त्रीले आफ्नो भनाई राख्नेछन्। मुख्यमन्त्रीहरुले पोखरा सम्मेलनबाट पारित गरेको ८ बुँदेमा समेटिएका विषय राख्ने बताइएको छ।

मुख्यमन्त्रीहरुको भनाईपछि संघीय सरकारका मन्त्रीहरुले आफ्नो राय पेश गर्नेछन्। अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

Logo