मुलुकभरका १ हजार १३९ प्रहरी चौकी सवारीसाधन विहीन

मुलुकभरका १ हजार १३९ प्रहरी चौकी सवारीसाधन विहीन


काठमाडौं

मुलुकका १ हजार १ सय ३९ प्रहरी चौकी सवारीसाधनबिना नै जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा छन् । सडक सुविधा पुगेका क्षेत्रमा पनि यसरी दैनिक शान्तिसुरक्षाको जिम्मेवारी पाएका प्रहरी चौकी पैदलै आफ्नो काम पूरा गर्न बाध्य छन् । नेपाल प्रहरीका अनुसार १ हजार १ सय ३९ युनिटमा मोटरसाइकल सुविधा समेत छैन ।

सवारीसाधन नभएका चौकीबाट नियमित काम परम्पागत शैलीमै भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सीमित हतियार र लौरो मात्रै रहेको प्रहरी पैदल वा सार्वजनिक सवारीको भर पर्नुपर्ने अवस्था रहेको बताइन्छ । यही समस्याका कारण चालू आवभित्रै सवारी साधन नभएका प्रत्येक चौकीमा कम्तीमा एक–एक वटा मोटरसाइकल खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले अपराधमा संलग्न व्यक्ति पक्राउ गर्न मुलुकभरका प्रत्येक प्रहरी चौकीमा कम्तिमा एउटा मोटरसाइकल सहित ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

करिब ७५ हजार जनशक्ति तैनाथ नेपाल प्रहरीका देशभर २ हजार २५ कार्यालय रहेकोमा प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र हवल्दार प्रमुख रहेका चौकीको संख्या १ हजार १ सय ३९ छ । त्यस्तै ६४ सीमा चौकी तैनाथ छन् । यो संख्यामध्ये पहिलो चरणमा ३ सय ५० युनिट र चालू आर्थिकवर्ष भित्रै बाँकी युनिटका लागि मोटरसाइकल खरिद गरिसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कारोेबारबाट

Skip This
Logo