वाईडवडी विमान खरिद सम्बन्धमा मन्त्रालय गम्भीर : पर्यटन मन्त्री

वाईडवडी विमान खरिद सम्बन्धमा मन्त्रालय गम्भीर : पर्यटन मन्त्री


काठमाडौं

पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने बताएका छन् ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सदस्यहरुले विवादित विमान खरिद प्रक्रियाबारे सरोकारवाला मन्त्रालय गम्भीर नभएको र मन्त्रीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै आक्रोश पोखेपछि मन्त्रीले चुप लागेर नबसेको बताएका थिए । छानबिन समितिको प्रतिवेदनले पनि थुप्रै प्रश्न उब्जाएको भन्दै त्यसमाथि पनि अध्ययन जरुरी रहेको उनले बताए ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमभित्र कमजोरी भएको स्वीकार गर्दै स्पष्ट छानबिन गर्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको उल्लेख गरे । यसबारे समितिले छानबिन गरि ल्याउने वास्तविकतालाई मन्त्रालयले प्रक्रियामा लैजाने उनले स्पष्ट पारे ।

समितिले निगमको वाईडवडी खरिदमा भएको भनिएको आर्थिक अनियमितताका सम्बन्धमा मन्त्री अधिकारीसँग छलफल गरेको हो । यसअघि निगमका पदाधिकारी, मन्त्रालयका सचिव लगायतसँग छलफल गरेको थियो । वाईडवडी खरिद प्रक्रिया नियमसंगत नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदनसँगै यसमा झण्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले चासो देखाएको हो ।
नयाँ पत्रिकाबाट

Skip This
Logo