‘यो मेरो मात्र जीत होइन, सबै व्यवसायीको जीत हो’ : चन्द्रप्रसाद ढकाल (भिडियाेसहित)

‘यो मेरो मात्र जीत होइन, सबै व्यवसायीको जीत हो’ : चन्द्रप्रसाद ढकाल (भिडियाेसहित)


काठमाडौं ।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । महासंघको ५४ औं बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएका थिए ।

त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । आइतबार सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्ष बाहेकका पदमा शनिबार मतदान भएको थियो ।

निर्वाचित भएपछि कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिए । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, “मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्ष विपक्ष भन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौं भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौं । मेरो जीत भनेको सम्पूर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।”

यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए।

जिल्ला नगर तर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैंमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए। त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उनले उल्लेख गरे ।

वस्तुगत तर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए ।

उनले भने, “कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरोना बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योगी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो । ”

महासंघमा वस्तुगत तर्फ १ सय १, जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए ।

Logo