‘एशीया प्यासिफिक समिट’ बारे अनावश्यक टिप्पणी नगरौ- प्रधानमन्त्री

‘एशीया प्यासिफिक समिट’ बारे अनावश्यक टिप्पणी नगरौ- प्रधानमन्त्री


प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा आयोजित ‘एशीया प्यासिफिक समिट’ सफलतापूर्वक सम्पन्न भएको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले युनिभर्सल पिस फाउन्डेशनले आयोजना गरेको सो कार्यक्रमबारे अनावश्यक टिप्पणी नगर्न पनि सबैलाई सचेत गराएका छन्  । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति, उन्नति र विकासमा साझा धारणा रहेकाले आफू सो कार्यक्रममा उपस्थित भएको पनि स्पष्ट पारे । उनले सो संस्थाले सबैका लागि उपलब्धि हासिल गराउने उद्देश्य लिएको विश्वास समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुक स्थायित्वमा प्रवेश गरेको उल्लेख गर्दै कुनै पनि दाग नलागी जनताको पक्षमा समर्पित भएर काम गर्न सबै जनप्रतिनिधिहरुलाई आह्वान पनि गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई फाउन्डेशनले ‘नेतृत्व र सुशासन’ पुरस्कार प्रदान गरेको थियो । नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख अमेरिकी डलर रहेको छ । प्रधानमन्त्री ओलीले सो पुरस्कारको राशी नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने घोषणा पनि गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई गरेको सबै सम्मान देश र जनताको सम्मान भएको उल्लेख गर्दै त्यसलाई देश र जनताको हितमा उपयोग गर्ने पनि बताए । फाउन्डेशनले उपलब्ध गराएको सो राशीको पुरस्कार सरकारी कोषमा समाहित गरेर खर्च गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।

Logo