कर्मचारी समायोजन प्रकृयामा ढिलाई

कर्मचारी समायोजन प्रकृयामा ढिलाई


काठमाडौँ

कर्मचारी समायोजनमा ढिलाइले प्रदेश र स्थानीय तहको सयौं काम प्रभावित भएकोे छ । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष वितिसक्दा पनि प्रदेश र स्थानीय तहमा अझै संक्रमणकाल नै रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

स्थानीय तहको पुनःसंरचनापछि अस्तित्वमा आएका नगरपालिका, गाउँपालिकामा प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगी, प्राविधिक जनशक्ति नभएर कार्यसम्पादनमा असर परेको नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनुभएका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

‘पुराना नगरपालिकामा त धेरै समस्या छैन, तर नयाँ गठन भएका नगरपालिका र गाउँँपालिकाहरु पूर्ण रुपमा चलायनमान हुन सकेको छैन ।’ नगरप्रमुख ब्याञ्जुले भन्नुभयो । झन्डै ५९ स्थानीय तहमा प्रशासकीय अधिकृत छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै कर्मचारी पठाउन सकेको छैन ।

कर्मचारी समायोजन, सागंठनिक संरचना निर्माण जस्ता कार्यमा मन्त्रालयले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको पनि उहाँको भनाई रहेको छ । दक्ष कर्मचारीको अभावले कानुन निर्माण, योजनाको कार्यान्वयन जस्ता कार्य प्रभावित भएको पाइएको छ ।

अहिले संघका लागि ५६ हजार १ सय ३१, प्रदेशका लागि २१ हजार ३ सय ९९ र स्थानीयतहका लागि हाल कायम रहेको ३१ हजारसहित ५८ हजार २ सय ६२ कर्मचारीको आवश्यकता रहेको छ । अहिले प्रदेश र स्थानीय तहमा १४ हजार कर्मचारी आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ७ वटै प्रदेशको स्थानीय तहको स्थलगत अध्ययन गर्दा कर्मचारी अभावको संख्या यो भन्दा बढी हुने पनि प्रमुख ब्याञ्जुको भनाई रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo