राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाने कार्यक्रम तय

राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाने कार्यक्रम तय


काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याम्डमा हुने जलवायु परिवर्तन सम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार (मङ्सिर १५ गते) त्यसतर्फ जानु हुने भएको छ ।

भ्रमणका अवसरमा आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले कोप–२४ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुका साथै सोमबार उच्चस्तरीय प्रतिनिधि सहभागी सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

सोमबार बिहान राष्ट्र सङ्घीय महासभाका अध्यक्ष मारिया फारनन्दा स्पिनोसाले राष्ट्रपति भण्डारीसँग भेट गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन साँझ कोपको सम्मेलनमा सहभागी हुन आउनु भएका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको सम्मानमा पोल्यान्डका राष्ट्रपतिले आयोजना गर्नुहुने रात्री भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनु हुनेछ । त्यस्तै, मङ्गलबार राष्ट्रपति भण्डारीले पोल्यान्डका राष्ट्रपति अन्डार्जी सेवास्टिना डुडासँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्यहरू पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतमका साथै राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहनेछ । राष्ट्रपति भण्डारी मङ्सिर १९ गते स्वदेश फर्कनु हुनेछ ।
गोरखापत्रबाट

Skip This
Logo