मेलम्ची आयोजनाको काम अब अन्तिम चरणमा

मेलम्ची आयोजनाको काम अब अन्तिम चरणमा


काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले सुरुङको अन्तिम चरणको काम भइरहेको छ ।

‘सुरुङको ढलान र फाइनल सर्पोर्टको कामहरु भईरहेको छ । यो सुरुङको अन्तिम चरणको कामहरु हुन् ।’ उहाँले बताउनुभयो । उहाँका अनुसार ढलाईका कामहरु सक्न विभिन्न खण्डमा गरी २ दशमलब ८ किलोमिटर मात्रै बाँकी रहेको छ । भने सुरुङको फाइनल सर्पोर्ट २ किमि मात्रै बाँकी छ ।

सुन्दरीजलको २ स्थान, सिन्धुबाट १ र ग्याल्थुमबाट १ गरी चार स्थानबाट एकै साथ सुरुङको कंक्रीट ढलाई र फाइनल सर्पोर्ट (प्लास्टर) को काम भईरहेको छ । यी कामहरु अम्बाथान अडिटबाट भने यसअघि नै सम्पन्न भईसकेको आयोजनाले जनाएको छ ।

त्यस्तै सुरुङमा हावा फाल्न ३ ओटा भेन्टिलेसन साफ्ट मध्ये २ वटाको काम भईरहेको छ भने अम्बाथान अडिटमा यो काम सम्पन्न भईसकेको छ । भेन्टिलेसन साफ्टको काम सुन्दरीजल र सिन्धु/ग्याल्थुम अडिटमा भईरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो ।

सुन्दरीजल, सिन्धु/ग्याल्थुम, अम्बाथान, सुरुङको मुख र आउटलेटमा जोड्ने गेटको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । यी कामहरु भईरहेकोले कहिले काम सकिन्छ भन्ने भन्न नसकेपनि आयोजनाले परिक्षणको लागि तयारी पनि गरिरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo