चालु आर्थिकवर्षमा व्यापार घाटा साँढे ४ खर्ब : सुध्रिएन व्यापार असन्तुलन

चालु आर्थिकवर्षमा व्यापार घाटा साँढे ४ खर्ब : सुध्रिएन व्यापार असन्तुलन


काठमाडौं

चालू आर्थिक वर्षको पहिलो चौमासिक सम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयातकै छ । पेट्रोलियम आयतको उच्चबृद्धिले व्यापार घाटा बढाउँदै गएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ, असोज र कार्तिकमा नेपालले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो मध्ये निर्यातको हिस्सा ५.७ प्रतिशत मात्रै छ । अर्थात नेपालले २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँको सामान आयात भएको केन्द्रले जनाएको छ । यस अनुसार देशले चार महिनामा ४ खर्ब ८४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नु परेको छ ।

समीक्षा अवधिमा नेपालको कुल निकासी १०.७ प्रतिशतले कुल पैठारीमा ३८.१ प्रतिशतले वृद्धि भएको देखाउँछ । पहिलो चौमासिकको यो तथ्याङकले नेपालको अर्थतन्त्र थप आयातमूखी बन्दै गएको पुष्टि गरेको छ । आ.व. २०७४/७५ को पहिलोे चार महिनामा निर्यात भन्दा आयात १३.२ गुणाले बढी रहेकोमा समीक्षा अवधिमा आयात निर्यात अन्तर १६.५ गुणा पुगेको छ ।

आयातित बस्तुमा सबैभन्दा धेरै ६९ अर्ब ७ करोड ५८ लाख ४२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । गत वर्ष सोही अवधिमा ४१ अर्व ७ करोड १५ लाख रुपैयाँको इन्धन आयात भएको थियो । यो गत वर्षको तुलनामा ६२ प्रतिशतले वृद्धि हो । दोस्रो धेरै आयात हुने वस्तुमा फलाम तथा फलामजन्य उत्पादन देखिएका छन् । यस्तो वस्तु चार महिनामा ५८ अर्ब २० करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।

यस्तै निर्यात भएका वस्तु मध्ये सबैभन्दा धेरै निर्यात भएको कच्चा घागो चार महिनामा २ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँको निकासी भएको छ । यसैगरी ऊनी गलैँचा २ अर्ब ७६ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । चार महिनामा यो वस्तुको निर्यात १७.९ प्रतिशतले वृद्धि हो । गत वर्षको यसै अवधिमा यस्तो सामान २ अर्ब ३४ करोड ४२ लाख ७१ हजार रुपैयाँ थियो ।
नागरिकबाट

Logo