ब्लग

सपनाबाट ब्युझिएको थानेदार

कार्यालय प्रवेशद्वारमा मेरा कदम रोकिन पुगे । सेवाग्राहीहरुको भीड थियो । उनिहरुको वरिपरि म घेरिएं । पछाडिबाट अरुलाई छिचोल्दै एकजना भद्र व्यक्ति मेरो सामु आइपुगे र अनुहारभरिको चोट अनि वग्दै गरेको आलो रगत देखाएर आवेश मिश्रित लवजमा भन्न थाले ‘घरै अगाडिको मदिरा पसलमा सधै जसो हुने गरेको झगडा र अश्लिल शव्द सहन नसकेर सम्झाउन गएँ, उल्टै मेरो यो हालत भयो हेर्नुस त’ ।

उहाँसँग दोहोरो वार्तालाप हुन नपाउँदैं छेउमै उभिएकी महिलाको रोदनसहितको निवेदनले मलाई आकर्षित गर्‍यो । नशालु श्रीमानको यातना र दुव्र्यवहारको पीडा पोख्दै थिइन् । शव्द संगै अश्रुधारा पनि वग्दै थिए आँखाबाट । फेरि व्यापारी सेवाग्राहीले चोरिएको आफ्नो मालसामानको वापसी र चोरलाई कारवाहीको लिखित व्यहोरा पेश गरे ।

त्यहा आउने सवैको आ–आफ्नो कथा व्यथा थियो । अनि शान्ति सुरक्षा र प्रहरी कारवाहीको अपेक्षा पनि थियो त्यो पनि सकेसम्म छिटो । कार्यालयमा प्राय जसो देखिईरहने यस्तो दृश्यको क्रम रोकिने लक्षण देखिदैन । सेवाग्राहीको भीड घट्ने हैन दैनिक बढ्दो छ ।

सेवा र सुरक्षाको अपेक्षामा वेचैन सेवाग्राहीको बढ्दो संख्या देखेर केहि गरी छोड्ने अठोट जागेर आयो । कसरी शुरु गर्ने र के गर्ने भन्ने निर्णयमा पुग्न पनि सेवाग्राहीकै मत लिने रणनिति बनाएँ । उहाँहरुको समस्या तत्काल सुनुवाई गरिने भरोसा दिलाउदै सबैलाई कार्यकक्षमा जम्मा गरे । योजनाको शुरुवात मेरो प्रश्नबाट भयो ।

‘तपाईहरु झ्यालढोका खुलै छाडेर चैनले निदाउन चाहानु हुन्छ ?’ स्तव्ध भयो वातावरण । न कुनै समर्थन, नकुनै प्रतिक्रिया । प्यासले छटपटिएर तत्काल एक गिलास पानीको याचना गरिरहेको प्यासालाई कालान्तरमा झरना ल्याइदिने आश्वासन बाडे झै असान्दर्भिक भयो मेरो प्रश्न । छोटो मौनता तोड्दै तिनै भद्र व्यक्तिले आक्रोश पोखे ‘झ्याल ढोका बन्द गर्दा त यस्तो अवस्था छ, अझ खुल्लै छोडिदिएर सुत्ने हो भने हालत के होला ? हैन यो के भन्नु भएको थानेदार साब ?’ मेरो अघोषित योजनाको लक्ष्यमा सहमत गराउन फेरि अघि बढे ।

‘हेर्नुस हाम्रो लक्ष्य र तपाईहरुको चाहना एउटै हो, अमन चयन । शान्ति सुरक्षा कायम नभइ अमन चयन आउँदैन् । यसको लागी प्रहरी चिन्तित मात्र छैन अहोरात्र सक्रिय पनि छ । अपराधीहरु कारवाहीमा परी नै रहेका छन् । विभिन्न योजना र कार्यक्रम मार्फत तपाइहरुको सेवामा संगठन लागिनै रहेको छ । तर पनि शान्ति र सुरक्षा मृग तृष्णा झै बन्दैछ किन होला ?’ प्रतिक्रियाको पर्खाइमा केहि वेर अडिएं ।

मुखामुख गरिरहेका नागरिकहरुलाई नियालिरहें । मेरो अनुमान सहि सावित हुँदैं थियो । केहि आशा र केही आवेश शब्दमा व्यक्त भए तिनै पिडित महिलाबाट ‘त्यो त तपाईहरुलाइ नै थाहा होला नि, समाजमा निस्फिक्रि घुमिरहेका अपराधी र फटाहाहरुलाई तपाइले चिन्नु भएको छैन र ?’ केहिवेरको सवाल जवाफ पश्चात हाम्रो वार्तालाप सामान्य र सौहार्द्र हुँदैं गयो ।

यो अवसरलाई गुम्न नदिइ मैले अशान्तिको कारण र सामाधानको दिगो योजना सुनाउँदा जुन एकाग्रता छायो, यसलाई मैले नागरिकको म प्रति समर्थनको रुपमा बुँझे । र शुरु भयो नागरिक प्रहरीको सहयात्रा ।

तिव्र गतिमा शहरीकरण तर्फ उन्मुख भइरहेको मेरो कार्यक्षेत्र केहि वर्ष अगाडि सम्म मनोरम प्राकृतिक दृश्य सहितको गाउँ थियो । दैनिक थपिने गरेका घरहरुका कारण अव त्यो सुन्दरता दन्त्य कथामा परिणत हुँदैंछ । गाउँले आत्मियता र एउटै परिवारजस्तो समुदायको लोभलाग्दो कहानी सुनाउने अग्रजहरु अझँ छदैंछन् । तर त्यसको अनुभुति भने दुर्लभ हुँदैं गएको छ ।

गाउँलेको मनमा बसेको कर्तव्य, इमान्दारिता र स्वाभिमानको अलिखित वोध आजको लिखित कानुन र अधिकारका ठेली भन्दा कम थिएन, शान्ति सुरक्षाको सवालमा । तर त्यसको ठाँउ शहरी व्यस्तता र एक्लो उपभोक्तावादी जिवनशैलीले लिइसकेको छ ।

गगनचुम्वी महलहरुका विचको साँघुरा गल्लिहरुमा तिनजना सवार भएर कोलाहल मच्चाउँदैं धुलो उडाउँदैं बेतोडले मोटरसाईकल चलाउँदैं हिडिरहेका युवाहरु जताततै भेटिन्छन । अश्लिल शव्द तिनका मुखैमा झुण्डिएको हुन्छ । लागुऔषधको गन्ध तिनको वरिपरि फैलिरहेको हुन्छ । जताततै खुलेका खाजाघर र रेस्टुरेन्टहरुमा कामुकता छर्दै अर्धनग्न युवतीहरु भित्र बाहिर गरिरहेका भेटिन्छन ।

चर्को आवाजमा वातावरण प्रदुषित हुनेगरी घन्किएका संगतिले आनन्द कसैलाइ दिदैन तर बजिरहेका हुन्छन् । मदिरा प्राय घरै पिच्छे पाइन्छ । मानिसहरु सम्पत्ति, यौन र मदिराको लागी अनुशासन नैतिकता मात्र हैन पारिवारिक दायित्व समेत दाउमा राख्न तयार हुन्छन ।

अपराधै गर्नुपरे पनि गर्छन र गरिरहेका पनि छन । परिणाम स्वरुप घरेलु हिंसा, लागु औषध, गुण्डागर्दीले जरा गाड्दै गरेको महसुस जो सुकैले पनि गर्न सकिन्छ । हामीले गस्ति गरिरहने वस्ति पनि त्यहि हो ।

यो प्रवृत्तिलाई रोकौ भने स्थापित झै दैखिन्छ र समाज यसैमा अभ्यस्त भइसकेको छ । नरोकौ भने देखादेखी अपराधको भ्रुण तयार हुँदैं गरेको यो अवस्था, कसरी हेरिरहनु ? अन्त्यमा कर्तव्य पालनमा सम्झौता नगर्ने अठोट गरियो । र थालियो नयाँ सुरक्षा अभियान ।

कुनै तिलस्मी योजनाले मात्र शान्ती आउँदैन् । अब शान्तीमैत्री जिवनशैलीको टोलवासीलाई अयास गराउनु छ । अभ्यासबाट परिश्रम गर्ने, सदाचार अपनाउने र स्वाभिमानी बन्ने स्वभाव बसाल्नु छ । स्वभावले दृष्टिकोण र दृष्टिकोणले परिवर्तन गर्ने अभियानको थालनी यसरी गरियो ।

प्रत्येक टोलमा तिन–तिन वटा पार्क तयार गरियो । पहिलो पार्कको नाम थियोः–परिश्रम पार्क । टोलवासीले यो पार्कमा दिनको एक घण्टा विताउनै पथ्र्यौ । फुल रोप्ने, फल रोप्ने चौतारा बनाउने सजाउने र सुन्दरता थप्ने काम प्रत्येकले गर्नैपर्ने हुन्थ्यो । पसिनाले भिजेर मात्र त्यहाबाट वाहिरिनु पर्ने हुन्थ्यो । पार्कमा नआउने र परिश्रम नगर्नेहरुको अभिलेख राखिने गरिन्थ्यो ।

अर्को थियोः– प्रेम पार्क । हिंसा, प्रतिशोध, उत्तेजना, अभिमान त्यागेर पार्क भित्र प्रवेश गर्नैपर्ने, वाहिरिदा प्रेम, सदाचार र सरलता ग्रहण गर्नैपर्ने हुन्थ्यो । यो पवित्र पार्क भित्र प्रवेश नगर्नेहरु अभिमानी, कामुक र व्यभिचारीको रुपमा एक्लिनुपर्ने हुन्थ्यो । प्रत्येक टोलवासीले एकघण्टा यो पार्क भित्र विताउनुपर्ने हुन्थ्यो । हिंसा र प्रतिशोध विरुद्ध सार्वजनिक प्रतिवद्दता व्यक्त गरेर मात्र वाहिरिनुपर्ने हुन्थ्यो ।

तेस्रोः– पार्कमा सामाजिक कर्तव्य, मानवीय कर्तव्य र पारिवारिक कर्तव्य निर्वाहका कथाहरु पढ्न पाइन्थ्यो, ऐतिहासिक व्यक्तित्वका गाथाहरुको हेर्न लायक दृश्य सजाइएको थियो । तिनका प्रतिमा र सन्देशहरुले पार्क सजिएको थियो । कर्तव्यको दुनिया नै बनेको थियो र कर्तव्यबाट विचलित हुनेहरुलाई त्यहाको वातावरणले उपहास गरिरहेको हुन्थ्यो । यो पार्कको नाम थियोः– कर्तव्य पार्क ।

समुदायका वासिन्दाले आफ्नो दैनिक रुटिनमा तिन वटै पार्कमा जाने र त्यहाको अभ्यास गर्नुपर्ने समय निश्चित गर्नुपर्ने हुन्थ्यो । यसको अवज्ञा गर्न नपाइने गरी आचार संहिता बनाइयो र त्यसो गर्नेहरुको अभिलेख राख्न शुरु गरियो ।

नागरिकले यसको निगरानी र प्रहरीले कारवाही गर्ने काम जोडतोडले थालियो । नागरिकहरुको बढ्दो सहभागिताले हाम्रो जोस दुइगुना हुने नै भयो । यो अनिवार्य नियम उल्लंघन गर्नेहरुको संख्या क्रमश घट्दै गयो । कार्यक्रम जारी रह्यो ।

अवधि लामो भइसकेको थियो । किन हो नागरिकहरु कार्यालयमा आउने क्रम भने अनपेक्षित रुपले घट्दै गइरहेको थियो । कुनै अप्रिय परिस्थिति त सृजना भएन ? यस्तै आशंकामा रुमलिदै गरेको मनस्थिति लिएर महिनौपछि पुन गस्ति गर्न लागियो सोहि वस्ति तिर । हामी जति जति त्यो टोल भित्र प्रवेश गर्दै गयौं हाम्रो विगतको अनुभुतिमा त्यति नै फरक हुँदै गएको पाईयो । टोल शान्त थियो ।

मानिसहरु हार्दिकता पुर्वक प्रस्तुत भइरहेका थिए । सवारी साधनहरुको व्यवस्थित पार्किङले सडक र बजारको सुन्दरता हेर्नलायक थियो । सरसफाइमा उल्लेखनिय प्रगति थियो । फेरि उनै भद्रव्यक्ति सँग साक्षत्कार हुन पुग्यो । अभिवादन पश्चात मैले वोल्नै नपाई भर्खरै गरेको कालोपत्रे सहितको सडक देखाउदै उनैले प्रश्न सोधिहाले ‘यो दुई महिनाविच मै यो बाटो कसरी कालो पत्रे भयो थाहा छ थानेदार साहव ?’ मैले केहि कुरो बुझ्नै पाएको थिएन उत्तर पनि उनैले दिइहाले, ‘टोलवासी सवैले मदिरा सेवन त्यागिदियौं । अनि त्यसैको पैसाले यो वाटो कालो पत्रे गर्यौ ।’

युवाहरु आफु मात्र फेरिएको हैन समाजलाई नै सकारात्मक परिवर्तन गराउन कम्मर कसेर लागिपरेको लामो वेलिविस्तार सुनाई रहे । टोलवासीहरुले पार्कको भावना बमोजिम घर घरमै परिश्रमको, प्रेमको र कर्तव्यको फुलवारी बनाएका रहेछन । परिश्रम नगर्नेहरु, सदाचार नभएका व्यभिचारीहरु र नागरिक कर्तव्यबाट विचलित भएकाहरु या त सुध्रिई सकेका थिए या त विस्थापित भएसकेका रहेछन् । तर लम्विदै गएको भद्र व्यक्तिसँगको वार्तालापलाई विट मार्ने गरी मैले सोधें, ‘अब अरु के छ त ?’ उनले पनि निर्णायक लवजमा उत्तर दिए, ‘थानेदार साहव आज भोलि टोलवासीहरु झ्याल ढोका खुलै छोडेर चैनको निद्रामा निदाउने गर्छन्’ भद्र व्यक्तिको अभिव्यक्तिले म निरुत्तर भएं ।

कार्यालयमा सेवाग्राहीहरु घट्नुको कारण पार्कले ल्याएको सकारात्मक जिवनशैली नै हो भन्नेमा म विश्वस्त हुन पुगें । कार्यक्रम सफल भएको कुरा कमाण्डरमा जाहेर गरें ।

धन्यवादसहित मेरो रोकिएको विदा स्वीकृति भएको जानकारी पनि पाइयो । विदामा घर जाने र घर पुग्ना साथ प्राप्त हुने श्रीमतीको सामिप्यताको कल्पनाले रोमाञ्चित हुदै प्रस्थान गर्नै लागेको थिए । निद्राबाट झल्यास्स बिउझिन पुगे । विहानको ७ वजिसकेको रहेछ । मोवाईल लगातार बजिरहेको थियो ।

फोन रिसिभ गर्नासाथ ड्युटी अफिसरले रातको विवरण पेश गर्यो, चोरी–२ वटा, झै–झगडा–२ वटा, बलात्कार एउटा, घरेलहिंसा…………। सपनाको आकाशबाट एकैचोटी विपनाको धरातलमा आइपुगें । हतार हतारमा तयार भए र घटनास्थलतिर हानिएं । म बाहिर निस्कदै गर्दा सेवाग्राहीहरु हात हातमा निवेदन बोकेर कार्यालयभित्र प्रवेश गर्न थालिसकेका थिए ।

Comment here

SKIP THIS