काठमाडौँ

टेबलमा फाइलसँगै सयको नोट । महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन् । तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन् । "/>

पैसा चढायो, काम गरायो : यातायात कार्यालय एकान्तकुनामा चरम बेथिती

पैसा चढायो, काम गरायो : यातायात कार्यालय एकान्तकुनामा चरम बेथिती


काठमाडौँ

टेबलमा फाइलसँगै सयको नोट । महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन् । तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन् । सेवाग्राहीले हतपत गोजीमा हाले । ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन् । त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को ।’

त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य हो यो । आँखाको जाँच गर्नेको घुँईचो उस्तै थियो । फोटो खिच्नेको बाक्लो भिड । भिडभित्रै भइरहेको थियो खुलमखुला लेनदेन । गेटमै टिकट लिनेबेला आँखा जाँच वापत ३८ रुपैयाँ तिरे पुग्छ । तर भित्र घुस लिइन्छ, दिइन्छ । दिनमा एकपटक होइन, पटक पटक ।

जसको आँखा कमजोर हुन्छ, तिरेपछि स्वतः सद्धे हुन्छ

आइतबार बिहान ९ः३० बजे । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा बिचौलियोले बिचमै बाटो छेके । तिनले केरकारको शैलीमा सोधे, ‘लाइसेन्सका लागि हो ? यता आउनु, यता ।’

एककदम अगाडि नबढ्दै अर्का विचौलियाले फेरि बाटो रोके । उनले भने, ‘तपाईहरु जानुभयो भने ४ घन्टा लाग्छ । हामी गयौं भने १० मिनेटमा बन्छ ।’ उनले यताउता हेर्दै सुस्तरी भने, ‘सिधै हाकिमलाई बुझाउने हो, आधा कर्मचारीलाई, आधा मलाई।’

यातायात व्यवस्था विभागले काम सहज गर्न विभिन्न शाखा विस्तार गर्यो । तर भिड उस्तै, सर्वसाधारणले पाउने सास्ती उस्तै । सजिलै लाइसेन्स मिलाइदिन्छु भन्ने, सिधै हाकिम भेटाइ दिन्छु भन्ने, बाटो छेकीछेकी काम लिन खोज्ने, दिन नखोजे कानुनी झन्झट देखाएर तर्साउने अवस्था उस्तै छ । यत्रतत्र किराना पसल । कार्यालय परिसर बाहिर फोटोकपी मेसिन राखिएका छन् । अन्यत्र भन्दा दोब्बर भन्दा बढी महँगो छ ।

नयाँ मान्छे मुल गेटमा देख्नै हुन्न । विचौलियाहरु सलबलाउँछन् । कार्यालयभित्र पस्नै नपाइ सेवाग्राही तिनको फन्दामा पर्छन् । गेटमा नागरिक वडापत्र छैन । ठूलो अक्षरमा कुनै सुचना पनि छैन । सोधपुछ कक्ष समेत छैन । ठूला तथा साना सवारी साधनको नविकरण र दर्ता गर्ने कार्यालय अगाडि छ सोधपुछ कक्ष । तर त्यहाँ कर्मचारी दिनभरि भेटिएनन् । वडापत्र पनि त्यहीं छ, तर छेकिएको छ ढोकाले ।

सेवाग्राहीलाई सास्ती

भित्र मिलेमतोमा काम भइरहेको छ । बाहिर सर्वसाधारणले पाउनु सास्ती पाइरहेको छ । कतिका वर्षौं देखि काम बनेका छैनन् । कुरिहेका छन्, तर कहिले बन्छ थाहा छैन । हजारौं खर्च गरी लाइसेन्स लिन काठमाडौं आउँछन् । रित्तो हात फर्किन्छन् ।

यातायात व्यवस्था कार्यालय, सानाठूला सवारीका कार्यालय प्रमुख बसन्त पन्थीले विचौलियालाई कार्यालय भित्र प्रवेश निषेध गरिएको बताए । उनले भने, ‘बिचौलीयाबाट काम हुनै सक्दैन । त्यस्तो व्यक्तिलाई हामी कार्यालय भित्र आउनै दिँदैनौं ।’

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका कार्यालय प्रमुख श्यामकुमार सिंह बाहिर छातामा बस्नेहरु सबै विचौलिया भएको बताउँछन् । उनले भने, ‘बाहिर छातामा बस्ने सबै विचौलिया हुन्।’ उनीहरुलाई हटाउन पटकपटक प्रत्यत्न गरिएको उनले बताए । ‘जिल्ला प्रसाशन कार्यालय र महानगरपालिकामा पत्राचार गरि गुहार मागियो । तर कार्यान्वयन भएको छैन । उनले भने, ‘हामी बिचौलियालाई लखेटेर बस्ने कि सेवा दिने ? ’ प्रहरी प्रसाशनले कडा नगरेसम्म बिचौलिया नहट्ने उनले बताए ।

घुस लेनदेनबारे भने आफू अनभिज्ञ रहेको उनले बताए । भन्छन्, ‘यसबारे मलाई जानकारी भएन । छानविन गरेर दोषी माथि तत्काल कारबाही गरिन्छ ।’
अन्नपूर्णबाट

Logo