भक्तपुर गुण्डुकी सिता नगरकोटीले मखमली फूलको खेती गर्न थालेको २५ बर्ष भयो । मखमली फूलको ब्यवसायीक खेतीका लागि उनले छिमेकीको २ रोपनी जग्गा समेत भाडामा लिएकी छन् । "/>

उत्पादन बढ्दा दङ्ग, भाउ नपाउदा खिस्रिङ्ग !

उत्पादन बढ्दा दङ्ग, भाउ नपाउदा खिस्रिङ्ग !


भक्तपुर गुण्डुकी सिता नगरकोटीले मखमली फूलको खेती गर्न थालेको २५ बर्ष भयो । मखमली फूलको ब्यवसायीक खेतीका लागि उनले छिमेकीको २ रोपनी जग्गा समेत भाडामा लिएकी छन् ।

सदा झै नगरकोटीले यस बर्ष पनि मखमली फूलको माला बिक्रिका लागि ठिक्क पारिसकेकी छन् । उनले फूल टिप्ने र माला उन्ने काम लगभग सकाईसकेकी छन् । उनले पर्म लगाएर असार महिनादेखि नै फूल टिप्ने र माला उन्ने काम थालेकी थिइन् । यतिबेला उनको घरमा तीन हजार वटा माला बिक्रिका लागि राखिएका छन् ।

अघिल्लो बर्षहरुमा भए यतिबेला उनलाई माला बिक्रिका लागि भ्याईनभ्याई हुन्थ्यो । उनको घरमा माला खोज्दै आईपुग्ने ग्राहकको भिड हुन्थ्यो । ग्राहकको जति भिड लाग्थ्यो त्यति नै मूल्य बढाबढ गरेर माला बिक्रि गरिरहेका हुन्थे । तर यसपटक उनलाई त्यस्तो कुनै चपेटा छैन । न ग्राहक न त मोलमोलाई नै ।

अघिल्लो वर्ष ३ हजार मखमलीको माला अष्ट्रेलिया निर्यात गरेकी उनको घरमा यसपटक माला किन्ने ग्राहक पुगेका छैनन् । जति पनि ग्राहक पुगे उनीहरुले विगतमा भन्दा एकदमै न्यूनतम मूल्य दिएका छन् । त्यसकारण लामो समयदेखि मूल्य बढाबढमा माला बेच्दै आएका नगरकोटीलाई यो बर्ष मूल्य घटाएर माला बेच्नुपर्ने हो कि भन्ने चिन्ता छाएको छ ।

उनको जस्तै पीडा छ स्थानीय मेनुका बस्नेतको पनि । आफ्नो पाखाबारी र एक रोपनी जग्गा भाडामा लिएर मखमली फूलको खेती गर्दै आएकी उनले यो बर्ष मिहिनेत अनुसारको मूल्य नपाएको दुखेसो पोखिन् । विगत ७ वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी उनी पछिल्लो ५ वर्षसम्म एउटै रहेको फूलको मुल्य अहिले एकाएक घट्दा यो वर्षको लगानी नै नउठ्ला कि भन्ने तनावले पिरोलेको बताउँछिन् । “बिगत ५ बर्षदेखि उस्तै उस्तै मूल्यमा बेचेका थियौ तर यसपटक त ह्वात्तै मूल्य घट्यो ।” उनले थपिन्– “लगानी नै नउठ्ने पो हो कि भन्ने चिन्ता छ ।”

बिगतमा भन्दा उत्पादन बढेपछि दङ्ग परेकी उनी यतिबेला भाउ नपाएर खिस्रिङ्ग परेको बताउछिन् । उनी भन्छिन्, ‘किसानहरु आत्मनिर्भर भएका छन्, फूलखेतीले राम्रो आम्दानी दिएको छ तर यो वर्ष किसान मर्कामा परेका छन् ।” उनले मखमली फूलको मालामा समेत विचौलिया हावी भएको भन्दै सरकारले बजारमा मालाको मुल्य निर्धारण गर्नुपर्ने बताईन् ।

ग्राहक कुर्दै वित्छ दिन

“माला खोज्न आउनु भएको हो ?” भक्तपुरको गुण्डु पुग्ने जो कोहीले अचेल यो प्रश्नको सामना गर्नुपर्छ । मखमली फूलका कृषकहरु यतिबेला ग्राहक खोजीरहेका छन् ।

नगरकोटीको दैनिकी पनि अचेल ग्राहक कुरेरै वित्छ । “पहिले पहिले यतिबेला घरमा ग्राहकको भिड लाग्थ्यो तर अचेल ग्राहक कुर्नु परेको छ ।” उनले पीडा पोखिन् । अन्न र तरकारी खेती गर्दै आए पनि यो फूलको खेतीले बढी आम्दानी दिने भएकाले गुण्डुका अधिकांश कृषक मखमलीको खेतीमा लागेका छन् ।

कतिपयले त अन्न र तरकारी बाली नै त्यागेर मखमली फूलको खेतीमा लागेका छन् । तर उचित बजार मुल्य नपाएपछि उनी जस्तो सयौ किसान मर्कामा परेका छन् । बिगतका बर्षहरुमा उनीहरुले औषत २५ रुपैंया प्रतिगोटामा माला बिक्रि गर्थे । तर अहिलेसम्म उनीहरुले १८ रुपैँया भन्दा बढी मूल्य पाएका छैनन् । बस्नेत र नगरकोटी जस्ता थुप्रै कृषकहरु यसपटक मालाको उचित मूल्य नपाएर चिन्तामा छन् ।

भक्तपुर सुर्यविनायक नगरपालिका ७ को गुण्डु क्षेत्र नेपालको सबैभन्दा धेरै मखमली फूल उत्पादन हुने क्षेत्र हो । यहाँका पाखाबारी, घडेरी र खेतमा समेत मखमली फूलको ब्यापक खेती हुँदै आएको छ । यहाँका किसानहरु मखमली फूल खेतीले आत्मनिर्भर समेत भएका छन् ।

Logo