अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । "/>

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु


अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए । सो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ । प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए । प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए ।

तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतया यात्राका लागि हेलिकप्टरको प्रयोग गर्दछन् । युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् ।

गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकप्टर फराहमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार कम्तीमा चार जनाको मृत्यु भएको थियो ।

सेप्टेम्बर महिनाकै शुरुमा उत्तरी बाल्ख प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा दुई जना उक्रेनी नागरिक सहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । पश्चिमी देशहरुले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाई फौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ ।

Logo