File Photo

काठमाडौं । "/>

प्रधानमन्त्रीको स्वास्थ्यको प्रभाव कति ?

प्रधानमन्त्रीको स्वास्थ्यको प्रभाव कति ?


                                                             File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक सातादेखि अस्वस्थ्य छन् । गएको बिहीबारदेखि नै सामान्य ज्वरोले असहज भएको चिकित्सकीय निगराीमा रहेका उनलाई सोमबार बिहान भने अस्पताल नै भर्ना गरियो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्था सामान्य रहे पनि पुनः संक्रमण हुन नदिन पुरानै अवस्थामा फर्कन भने समय लाग्ने भएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि पनि भेटघाटमा रोक लगाउने चिकित्सककै सल्लाहमा प्रधानमन्त्री सचिवालयले तयारी गरेको छ ।

गएको आइतबार राष्ट्रपतिको कतार भ्रमण स्वीकृत गर्न संक्षिप्त बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले कुनै काम गर्न पाएका छैनन् । अस्पतालमा रहँदा मन्त्रिपरिषद् बैठकलगायतका नियमित काम नै प्रभावित हुन थालेका छन् ।

प्रधानमन्त्रीले बुधबार बिहान अस्पतालमै मन्त्रीहरुलाई बोलाएर छलफल गरेको प्रधानमन्त्रीको स्वास्थ्य जाँचको नेतृत्व गरिरहेका प्रा.डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्रीलाई भेट्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री वर्षमान पुन अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीको अस्वस्थ्यताका कारण दसैंपछि घोषणा गर्ने भनिएका ठूला परियोजना केही पछि सर्ने अवस्थामा पुगेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार चौमासिक बजेटको अवस्था हेरेर खासगरी सडक, पूर्वाधार, स्वास्थ्यलगायतका क्षेत्रमा केही घोषणा गर्ने तयारी भएको थियो ।

प्रधानमन्त्रीले संसद भवनसहित प्रादेशिक ठूला भवनको शिलान्यासको तयारी गरिरहेका अर्थ मन्त्रालय स्रोतको भनाइ छ । त्यसबाहेक संवैधानिक परिषदको बैठक प्रभावित भएको छ । सरकारले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति अन्तिम चरणमा पुर्‍याएको थियो । प्रधानमन्त्री कार्यालयले दसैंअघि नै परिषद् पदाधिकारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।

संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको अन्तर प्रदेश परिषद् बैठक पनि स्थगित भएको लामो समय भएको छ । चौतर्फी दबाबबीच प्रधानमन्त्रीले दसैंलगत्तै बैठक बोलाउने तयारी गरेका थिए ।

चिकित्सकको सल्लाहअनुसार अस्पतालले डिस्चार्ज गरेपछि पनि अत्यावश्यक बाहेकसँग भेटघाटमा रोक लगाउने तयारी हुँदा विज्ञसँगका छलफलहरु प्रभावित हुने निश्चित छ । अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचको नेतृत्व गरिरहेका प्रा.डा. अरुण सायमीसँग निजी सचिवालयको तर्फबाट राजेश बज्राचार्य, विष्णु रिमाल, कुन्दन अर्याललगायतले छलफल गरिसकेका छन् ।

अस्पतालले पनि भेटघाट बाक्लो हुँदा संक्रमण बढ्न सक्ने भन्दै रोक लगाएको थियो । अस्पतालमा चिकित्सकले पूर्वप्रधानमन्त्रीहरुबाहेक सीमित शीर्ष नेताहरुलाई मात्रै भेट्न दिएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य भने सोमबारदेखि नै अस्पतालमै छन् ।

प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओलीलाई संक्रमण बढ्न सक्ने जोखिम यथावत् रहेको भन्दै केही दिन सिंहदरवारसमेत नजान भनेका छन् । प्रधानमन्त्रीले चिकित्सकसँग पटक–पटक ‘सिंहदरवा जान कहिले दिने ?’ भन्दै जिज्ञासा राखेका थिए ।

यसैबीच अस्पतालले बुधबार विहान विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको बताएको छ । बिहान गरिएका परीक्षणहरुको रिपोर्टहरु सन्तोषजनक आएको र स्वास्थ्य स्थितिमा थप सुधार गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीको छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएपछि सोमबार बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरुण सायमीको नेतृत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास खटिएका छन् ।

Skip This
Logo