पाकिस्तान साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश


पाकिस्तान साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पाकिस्तानले शनिबार भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । खेलको २४औं मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा मोइन अहमेदले तेस्रो गोल थपे । पहिलो हाफको अन्तिम समयमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए । पहिलो हाफमा ४ गोल खाएको भुटान दोस्रो हाफमा खेलमा फर्कन सकेन । पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि भुटानले गोल गर्न सकेन ।

पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी भारतलाई बिहीबार भएको उद्घाटन खेलमा २–१ ले हराएको थियो ।समूह ‘बी’मा पाकिस्तानले ६ अंक जोडेको छ । भुटान र भारत अंकविहीन छन् । समूह चरणको अन्तिम खेलमा भारत र भुटानले आइतबार खेल्नेछन् । शनिबारै हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ ।

यसअघि, नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाएका छन् ।

Logo