साफ यू–१५ च्याम्पियनसिप: पाकिस्तान र भूटान भिड्दै

साफ यू–१५ च्याम्पियनसिप: पाकिस्तान र भूटान भिड्दै


साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेल माल्दिभ्स र बङ्गलादेशबीच हुने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । 

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’मा भारत, भूटान र पाकिस्तान छन् । श्रीलङ्काले भने प्रतियोगितामा सहभागिता जनाएको छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । यसअघि बिहीबार भएको पहिलो खेलमा भारतलाई पराजित गर्दै पाकिस्तान विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । 

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएको तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालिसकेको छ । त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको थियो ।

Logo