ज्ञानमणि नेपाल कालोटोपी
झ्याँडी, सिन्धुपाल्चोक

०७२ बैशाख १२ को विनासकारी भूकम्पलाई नसम्झौं भने पनि कतै न कतैबाट सम्झना आउँछ । "/>

श्वेताश्री फाउण्डेशनले बनायो यस्तो एकिकृत नमुना बस्ती ( भिडियो सहित )

श्वेताश्री फाउण्डेशनले बनायो यस्तो एकिकृत नमुना बस्ती ( भिडियो सहित )


ज्ञानमणि नेपाल कालोटोपी
झ्याँडी, सिन्धुपाल्चोक

०७२ बैशाख १२ को विनासकारी भूकम्पलाई नसम्झौं भने पनि कतै न कतैबाट सम्झना आउँछ । त्यो क्षणलाई झस्काउँछ र पूनर्निर्माणका लागि पक्की संरचना नै चाहिने रहेछ भनेर याद पनि दिलाउँछ । विनासकारी भूकम्पसँगै देश विदेशमै सहयोग गर्नेहरुको भिड नै वढीरहेकै बेला कलाकारहरुको समुहले पनि विभिन्न सहयोगका कार्यक्रमहरु अघि सारे ।

यसैक्रममा हाँस्यकलाकारद्वय धुर्मुस र सुन्तलीले त पीडितहरुका लागि नमुना वस्ती नै बसाउने योजना अघि सारे र काम पनि गरे । उनीहरुकै पहलमा काभ्रेको पहरीगाउँ, सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको मुसहर वस्ती र रौतहटको चन्द्रपुरमा ४ वटा नमुना वस्तीहरुको निर्माण पनि सम्पन्न भइसकेका छन् । कतै यस्ता वस्तीहरु निर्माणाधिन अवस्थामै छन् भने कतै निर्माण हुने योजना भित्र पनि परिसकेका छन् ।

यसैक्रममा विनासकारी भूकम्पले सबैभन्दा धेरै मानविय र भौतिक क्षति पुर्याएको सिन्धुपाल्चोकको झ्याँडीमा अवस्थित माझीगाउँमा कलाकार श्वेता खड्काको पहलमा एउटा यस्तै नमुना वस्ती बनिरहेको छ । जून वस्ती अहिले निर्माणको अन्तिमचरणमा पुगेको छ । ५४ वटा निजीआवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५५ वटा घरहरु यहाँ निर्माणाधिन अवस्थामा छन् । ०७४ साल जेठ १५ गते पूनर्निर्माण प्राधिकरणका तत्कालिन सिइओ गोविन्द पोखरेल तथा कलाकार श्वेता खड्का लगायतको टिमले यो वस्तीको सिलान्यास गरेको थियो । त्यस यता विविध अप्ठ्याराहरुसँग झेल्दै अहिलेको वस्तीले बस्तीको आकार लिएको हो ।

हुन त यो वस्ती यस अघि नै निर्माण सकिनु पर्ने हो तर यहाँ निर्माणका क्रममा धेरै समस्याहरु आएपछि ढिला भएको छ । समस्याको रुपमा आर्थिक अभाव नै रहेको श्वेताश्री फाउण्डेशन झ्याँडी टोल सुधार समितीका अध्यक्ष दिनेश माझीले जानकारी दिए । यति मात्र होइन एकिकृत बस्तीका लागि जग्गा व्यवस्थापन पनि उस्तै समस्याका रुपमा रहेको थियो । माझी समुदायमा चेतना जगाउन र वस्ती निर्माणका लागि समन्वय गराउन पनि अप्ठ्यारो भएको थियो । यी धेरै समस्यालाई सहजीकरण गर्दै बस्ती निर्माण शुरु गरियो । अध्यक्ष माझीका अनुसार यस वस्तीमा अहिले सम्म करिव २ करोड ५० लाख खर्च भइसकेको छ भने वस्ती निर्माण सम्पन्न हुँदा ५ करोड ८८ लाख भन्दा वढी लाग्ने अनुमान गरिएको छ । २६ रोपनी क्षेत्रफलमा बनिरहेको यस बस्तीमा अहिले ७ जनाको टोल सुधार समितीको निगरानीमा दैनिक २० जना जति दक्ष प्राविधिक र प्रत्येक घरबाट एक एकजना स्थानियले वस्ती निर्माणमा प्रत्यक्षरुपमा सहयोग गरिरहेका छन् ।

सरकारी मापदण्डमा झन्झट र बैंकले दिने सहुलियत ऋणमा ढिलाईले गर्दा बस्ती निर्माणमा पनि ढिलाई भएको श्वेताश्री फाउण्डेशनका कार्यक्रम संयोजक यज्ञराज कार्कीले जानकारी दिनु भयो । सरकारी मापदण्ड सजिलो हुने हो भने केहि महिना भित्रै बस्तीले पूर्णता पाउने पनि उहाँले बताउनु भयो । कार्कीका अनुसार बस्तीमा रहेका स्थानियहरुलाई बस्तीप्रति माया वढोस भन्ने उद्देश्यले त्यहाँ रहेका युवाहरुलाई परिचालन गरि काम अघि वढाइएको छ ।

सके सम्म छिटो काम सकेर बस्ती समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनु भयो । अहिले निर्माणाधिन ५४ घर मध्ये ३४ वटा घरमा छाना छाउने सम्मको काम सकिएको छ भने बाँकी घरहरु निर्माणकै क्रममा रहेका छन् । यहाँको समुदायलाई बस्ती निर्माण पछि पनि जिविकोपार्जनका अन्य कार्यक्रम तर्फ प्रेरित गराउने यस संस्थाको उद्देश्य रहेको बताइएको छ ।

साविकको ठूलोसिरुबारी गाविस तथा हाल चौतारा साँगाचोकगढी नपा १४ मा रहेको यस गाउँमा करिव ३७० जना माझी समुदायहरुको बसोबास रहेको छ । भूकम्पले भएभरका सबै घरहरुलाई क्षणभरमै खण्डहर बनाइदिएको झ्याँडीवासीहरुले यस्तो वस्ती आफ्नै गाउँमा बनाउन सकिने कुरा सपनामा पनि सोचेका थिएनन् । बस्ती निर्माणको अन्तिम अवस्था हुँदा अहिले उनीहरु निकै नै खुशी छन् । स्थानिय ६५ वर्षिय मैयाँ माझी भन्छिन् : “हामीले कहिल्यै नसोचेको नमुना वस्ती आफ्नै गाउँमा पाउँदा हामी धेरै खुशी भएका छौं । हाम्रो दुःखलाई बुझेर सहयोग गर्नु हुने संस्थालाई धेरै धेरै धन्यवाद छ ।”

आफ्ना श्रीमान् कलाकार श्रीकृष्ण श्रेष्ठको निधन भएपछि नायिका श्वेताको मन कलाकारिताका साथै समाजसेवामा पनि आर्कषित भएको थियो । श्रीकृष्णकै गृहजिल्ला सिन्धुपाल्चोकमा श्वेताकै पहलले श्वेताश्री फाउण्डेशनको स्थापना गरि फाउण्डेशनको पहिलो वस्तीको रुपमा झ्याँडीमा एकिकृत नमुना वस्ती बन्दै गरेको हो । एकिकृत बस्ती निर्माणबारे संस्थाकी अध्यक्ष नायिका श्वेता खड्काले आफ्नो अनुभव यसरी सुनाउनु भयो : “झ्याँडीकै बस्ती निर्माणका लागि फाउण्डेशनको स्थापना भएको हो , यहाँको माझि समुदायसँग काम गर्न पाउँदा म एकदमै खुशि छु । यो बस्ती राजधानीबाट धेरै नै नजिक रहेको तर हरेक समस्याले पीडित रहेको कुरा पत्रिकामा पढेर थाहा पाएँ । त्यसपछि केहि सहयोग गर्न सकिन्छ कि भनेर सोच्दै गर्दा फाउण्डेशन बनाएर नै काम गर्नु पर्ने आवश्यकताको महसुस भयो । र काम शुरु गरियो ।

गतवर्षको जेठबाट निर्माण शुरु गरियो । तर वर्षायाम भएकाले सामान ढुवानी र अन्य काम गर्न धेरै समस्या भयो । गतवर्षको चुनावले पनि कामलाई अवरोध गरेपछि निर्धारित समयमा सम्पन्न गर्न सकिएन । हामीले यो दशैं सम्ममा त जसरी पनि काम सक्ने योजना बनाएका थियौं तर वस्ती हस्तान्तरणका लागि अझै केहि महिना लाग्न सक्ने अवस्था छ । सरकारले अनुदान दिने प्रक्रियामा धेरै चरणहरु पुरा गर्नु पर्दा र झण्जटिलो बैकिङ प्रक्रियाले गर्दा पनि केहि समय ढिला भएको हो । ढिलै भएपनि हामीले सोचे भन्दा राम्रो बस्ती निर्माण गर्दैछौं । यो जिल्लाकै नमुना बस्ती हुनेमा म ढुक्क छु । जसले जहाँबाट हामीलाई सहयोग गर्नु भएको छ , सबैप्रति आभारी छु ।”

वस्तीमा अहिले हेल्प जर्मन र टुकीसंघको सहयोगमा खानेपानीका लागि पनि काम भइरहेको छ । वस्ती निर्माणका क्रममा सामान ढुवानी गर्न पनि धेरै नै समस्या भएको थियो । समस्या भएपनि अहिले यहाँ प्रत्येक घरमा ३ वटा कोठा र शौचालय सहितको पक्की घर बन्दै छ । तल सुसाउँदै गरेको इन्द्रावती नदी र छेवैको झ्याँडी खोलाको नजिक रहेको यस वस्तीलाई श्वेताश्री फाउण्डेशनले जिल्लाकै नमुना बनाईदिएको स्थानियवासीहरुले बताए ।

काभ्रे र सिन्धुपाल्चोकको सिमाना दोलालघाटबाट १ घण्टाको बसयात्रा तथा काभ्रेको मण्डनदेउपुर नपा हुँदै पनि जान सकिने झ्याँडीको यो नमुना वस्तीमा कुनै अवरोध नआए अबको केहि महिनामा सम्पन्न गरि स्थानियवासीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सो बस्ती निर्माण समितीका अध्यक्ष दिनेश माझीले बताए । हेरौं भिडियोमा :

Skip This
Logo