काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुन सहित दुईजनालाई पक्राउ गरेको छ । "/>

तीन किलो सुन सहित २ जना भरिया पक्राउ

तीन किलो सुन सहित २ जना भरिया पक्राउ


काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुन सहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो ।

परिसरले मंगलबार पत्रकार सम्मेलन गरी सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो रङ्गको पल्सल मोटरसाइकलमा सुन ल्याउँदै गरेको अवस्थामा टोखा रोडबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा १२ टुक्रा सुन पेटी भित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको जानकारी दिए । “पक्राउ परेकाहरु सुनको मालिक नभएर भरिया मात्र भएको अनुसन्धानमा खुल्न आएको छ,”–उनले भने ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले दुवैजना रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्ने गरेको र एक किलोग्राम सुन केरुङबाट काठमाडौँ ल्याएको ५० हजार पाउने गरेर सुन ओसारपसारमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताए । “सुनको मुख्य मालिक पत्ता लगाउन हामी लागेका छौँ,”–उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार उक्त सुनको मूल्य एक करोड ५० लाख २० हजार ६९९ रहेको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ । पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको विगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।
रासस

Logo