काठमाडौँ

पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । "/>

यस्ता छन् नेकपा भित्रका गुट-उपगुट

यस्ता छन् नेकपा भित्रका गुट-उपगुट


काठमाडौँ

पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकता भएकै दिन देखि वरियताको एजेन्डा उठाएको–उठायै छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो । उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन । अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिंदैछ ।

उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ । यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि आउन थालेका छन् ।

के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार बिहान नेकपा प्रवक्ता श्रेष्ठले हात्तिवनस्थित निवासमा पार्टीका युवा–विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरे । नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले उनलाई सुनाएका अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपा भित्र गुटसम्म ठीकै थियो, तर गिरोह नै छ भनेर नागरिक अगुवा देवेन्द्रराज पाण्डेले मलाई सुनाउनुभयो । यदि त्यस्तो गिरोह छ भने त्यसले पार्टीलाई कहाँ पुर्‍याउला ? युवा–विद्यार्थीले चिन्ता गर्नुपर्ने बेला आएको छ ।’

तोकिएका मिति र समयमा बैठक नबस्ने, एकता प्रक्रियाको कामले तीव्रता नपाउने जस्ता कारणमा उनले मुखै खोलेर ‘गुटको कारण’ त भनेनन् तर यसप्रति उनी असन्तुष्ट छन् भन्ने संकेत भने दिए ।

पार्टीभित्र विचारद्वारा निर्देशत राजनीति नभएको, रणनीति नबनेको, कार्यनीति मात्र रहेको, विचार नभएपछि गुट मात्रै देखिएको नेताहरूको भनाइ छ । ‘राजनीति विचारबाट निर्देशित हुनुपर्ने मान्यतालाई नेपालका धेरैजसो पार्टीले छोड्दै गइरहेका छन्’, नेकपा नेता राम कार्कीले भने, ‘दैनिक राजनीति मात्र चलिरहेको छ अहिले । जे आइपर्छ, त्यही गर्दै जाने अवस्थाको राजनीति, त्यसभित्र अनेक कुरा आउनु स्वाभाविक छ ।’
अन्नपूर्णबाट

Skip This
Logo