काठमाडौं


संसदीय समितिका १२ मध्ये १० वटा विषयगत समितिका सभापति सर्वसम्मत चयन भएका छन् । "/>

१० वटा संसदीय समितिका सभापति सर्वसम्मत

१० वटा संसदीय समितिका सभापति सर्वसम्मत


काठमाडौं

संसदीय समितिका १२ मध्ये १० वटा विषयगत समितिका सभापति सर्वसम्मत चयन भएका छन् । सभापतिको लागि एक एक जनाको उम्मेदवारी परेपछि उनीहरु सर्वसम्मत भएका हुन् । शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकले उनीहरू सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछ । यसपालि ६ वटा समितिको सभापतिमा महिला चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अधिकांश समितिको नेतृत्व महिला निर्वाचिन भएका छन् । राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठले मात्र उम्मेदवारी दिएकी छिन् । सभापति बनाउनकै लागि श्रेष्ठलाई कानुन न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको छ ।

महिला बालबालिका समितिको सभापतिमा सांसद निरु पालको मात्र उम्मेदवारी परेको छ । जयपुरी घर्तीले शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । घर्तीलाई पनि उद्योग वाणिज्य तथा श्रम समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पुर्याइएको थियो ।

पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । त्यस्तै पवित्रा निरौला खरेल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति बन्ने भएकी छिन् । कल्याणीकुमारी खड्का विकास समितिको सभपति बन्ने भएकी छिन् ।

नेकपाबाट पुरुषतर्फ कृष्णप्रसाद दाहाल अर्थ र कृष्णभक्त पोखरेलले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमका विमल श्रीवास्तवले पाएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतकुमार शाह सार्वजनिक लेखा समितिको सभापति बन्ने भएका छन् । समितिका सभापतिहरू राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षाको सुविधा पाउनेछन् ।

 

Logo